ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकातामा नेपालको आफ्नै कन्टेनर गोदाम

Aug 30, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

कोलकाता (भारत) । सरकारले भारतको कोलकाता बन्दरगाहमा लिजमा लिएको जग्गा साढे ४ दशकपछि उपयोगमा आएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटीडब्ल्यूसी)ले यो जग्गामा नेपाली आयातका लागि आफ्नै कन्टेनर फ्रेट स्टेशन (सीएफएस) निर्माण गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बिहीवार कोलकातामा सीएफएस उद्घाटन गरे । 

यो संरचनालाई अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयातित मालसामान राख्ने स्थलका रूपमा उपयोग गर्न सक्नेछन् । लामो समयदेखि भाडा तिरेर पनि अलपत्र परेको जग्गा अब नेपालको व्यापार प्रवद्र्धनका लागि उपयोगमा आएको छ । यो समुद्रपार व्यापार सहजीकरणमा महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।  

उद्घाटन समारोहमा मन्त्री यादवले देश समृद्धिको मार्गमा अघि बढेको उल्लेख गर्दै सीएफएस सञ्चालन आर्थिक समृद्धितिरको पाइलाको एउटा महŒवपूर्ण कडी भएको बताए । ‘सरकार आर्थिक विकासका सम्भाव्यता समाउने र उपयोगको प्रयासमा छ । यो (सीएफ) सञ्चालन त्यसैको कडी हो,’ उनले भने । 

नेपालले आफ्नै पानीजहाज चलाउने विषयलाई हाँसोमा उडाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री यादवले कोलकाता पोर्ट ट्रस्टको सहयोगमा चाँडै पानीजहाज सञ्चालनमा ल्याइने दाबीसमेत गरे । निकट भविष्यमा साहबगञ्ज र कालुघाटसम्म कार्गो ढुवानीका लागि समझदारी बनेको पनि उनले बताए । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले सीएफएस सञ्चालनले नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरण हुने बताए । यसबाट आयातमा तिर्नुपर्ने चर्को जरीवाना र बिलम्व शुल्कको भार कटौती हुने उनको भनाइ थियो । 

कोलकाता बन्दरगाहमा लागू गरिएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिड सिस्टम (ईसीटीएस) ले व्यापारको लागत कटौती हुने बताउँदै यसलाई थप व्यवस्थित गर्ने पहल भइरहेको जानकारी अर्यालले दिए । एनटीडब्ल्यूसीका अध्यक्ष मधुकुमार मरासनीले समुद्रपार व्यापारको पारवहन लागत घटाउन सीएफएसको उपयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीतकुमारले आफूहरू नेपालको व्यापार र पारहवन सहजीकरणमा सधैं तत्पर रहेको उल्लेख गरे । व्यापार सहजीकरणकै लागि बन्दरगाहमा संरचना र प्रक्रियागत सुधार भएको दाबी उनले गरे । 

नेपालले भारत सरकारसँग सन् १९७३ मा कोलकाता बन्दरगाहमा ४ हजार ८७२ वर्गमीटर जग्गामा भाडामा लिएको थियो । सरकारले यो जग्गाका लागि भारतलाई मासिक भारु ५५ हजार ७०० तिर्दै आएको छ । सञ्चालनमा आएको गोदाममा एकपटकमा ५०० ओटा कन्टेनर राख्न सकिन्छ । अहिले हलुका सवारीका साधनका लागि प्रयोगमा ल्याएर हिउँदपछि कन्टेनर राख्ने व्यवस्था मिलाइने जानकारी एनटीडब्ल्यूसीका कोलकातास्थित कार्यालय प्रमुख लक्ष्मण खड्काले दिए । 

आयातकर्तालाई तुलनात्मक सस्तोमा कन्टेनर राख्ने सुविधा दिइने एनटीडब्ल्यूसीले बताएको छ । कोलकाताका अन्य सीएफएसमा अहिले आयातकर्ताले एक मेट्रिकटन मालसामानको प्रतिदिन भारतीय रुपैयाँ (भारु) ४५ देखि ६५ तिर्नुपर्छ । भारू २२ लाख खर्चमा यो संरचना तयार भएको हो ।

कोलकाताबाट १५० किलोमीटर टाढाको हल्दिया बन्दरगाहमा पनि सरकारले सन् १९८४ देखि ६ हजार ९८५ वर्गमीटर जग्गा भाडामा लिएर राखेको छ । यसका लागि प्रतिमहीना भारू २ लाख २३ हजार ९१०  तिर्नुपर्छ । मन्त्री यादवले यो जग्गाको पनि स्थलगत निरीक्षण गरे । भाडामा लिएर पनि उपयोगमा आउन नसकेको जग्गा छिटै प्रयोगमा ल्याउने गृहकार्य भइरहेको उनले बताए । 

मन्त्री यादवले बिहीवार कोलकाता पोर्ट ट्रस्टको पनि अवलोकन गरे । उनले नेपालको समुद्रपार व्यापारका अवरोध समाधान गर्न पोर्ट प्रशासनलाई आग्रह गरे । मन्त्री यादवको उपस्थितिमा एनटीडब्ल्यूसी र बन्दरगाहका अधिकारीले सीएफएस सञ्चालनको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)