ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ह्याकरद्वारा नेपाली बैंकहरूका रू. ३ करोड ४५ लाख झिकियो 

५ जना ह्याकर प्रहरी फन्दामा

Sep 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रहरीद्वारा आइतवार सार्वजनिक गरिएका ह्याकरहरू । पक्राउ पर्ने लिन चियानमङ, लुओ चियालई, चु लियानकाङ, छिउ युनछिङ र चन पिन पिन पाँचै जना चिनियाँ हुन । तस्वीर : आर्थिक अभियान
author avatar ममता थापा author avatar मिलन विश्वकर्मा

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौं रुपैयाँ झिकेका छन् । उनीहरूले भिसा कार्डको नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैंकका एटीएम बुथबाट रू. १ करोड ७६ लाख रकम शनिवार अपराह्न झिकेका थिए । 

यस्तै, भारतमा पनि नेपाली बैंकको एटीएम कार्ड प्रयोग गरेर रू. १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैंकले बताएको छ । यद्यपि, भारतमा कसको संग्लनता थियो भन्ने केही खुलाइएको छैन ।

साथै, नेपालकै कुन बैंकको कति रकम झिकियो भनेर पनि अझै यकिन नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । उनले भने, ‘भिसाले राष्ट्र बैंकलाई दिएको जानकारी अनुसार ह्याकरहरूले नेपाल र भारतबाट गरेर रू. ३ करोड ४५ लाख रकम झिकेका छन् । उनीहरूले भारतमा हजार र नेपालमा ७०० पटक कार्ड प्रयोग गरी एटीएमबाट रकम झिकेका थिए । यद्यपि, यस विषयमा पूर्ण विवरण भने अबको केही दिनमा आउनेछ ।’ नेपाली बैंकले जारी गर्ने डेबिट र क्रेडिट कार्ड भारतमा पनि प्रयोग गर्न सकिन्छ । 

ह्याकरहरूले करोडौं रकम लुटे पनि कुनै पनि बचतकर्ता खातामा डेविट (रकम झिकिएको अवस्था) नदेखिएको नेपाल बैंकर्स संघले बताएको छ । त्यसैले सर्वसाधारण बचतकर्तालाई यस घटनाले कुनै पनि प्रभाव नपारेको र यदि भइहालेमा बैंकले नै क्षतिपूर्ति बहन गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । उनका अनुसार एटीएमको स्विच प्रणालीमै मालवेयर भन्ने सिस्टम ह्याक गर्ने भाइरस प्रयोग गरी भिसा कार्डबाट अप्रुभ गराई रकम निकालिएको देखिएको छ ।  

नेपाल प्रहरीले शनिवार साँझ ४ बजे नेपालमा यस्तो गतिविधि गर्ने पाँच जना चिनियाँलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा लिन चियानमङ, लुओ चियालई, चु लियानकाङ, छिउ युनछिङ र चन पिन पिन छन् । उनीहरूको समूहमा रहेका अन्य तीन जना भने फरार रहेको प्रहरीले बताएको छ । उनीहरूले बिहान ११ बजेदेखि नै एटीएममार्फत पैसा झिक्न शुरू गरेको देखिन्छ ।

उनीहरूले नबिल बैंकको एटीएमबाट मात्र रू. १ करोड १४ लाख झिकेको पाइएको छ । एटीएमबाट एकपटकमा बढीमा रू. २५ हजार मात्र निकाल्न मिल्छ । तर, ह्याकरले एकपटकमा लाखौं रकम निकालेको राष्ट्र बैंकको भनाइ छ  । 

प्रहरीले दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा झिक्न लागेको अवस्थामा चु लियानकाङलाई पक्राउ गरेको थियो । त्यसपछि लियानकाङ मार्फत नै प्रहरीले अन्य चार जनालाई पक्राउ गरेको हो । फरार रहेका तीन जना ह्याकरको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसरको भनाइ छ ।

लियानकाङलाई सोधपुछ गर्ने क्रममा उनीहरू बस्ने माया मनोहर बुटिकको कोठा नम्बर २०१, ६०२ र ६०४ नम्बर कोठाको साँचो भेटिएको थियो । उक्त होटेलमा गएर कोठामा खानतलासी गर्ने क्रममा उनीहरू लिफ्टमार्फत भाग्न खोजेका थिए । प्रहरीले सोही समयमा अन्य चार जनालाई पक्राउ गरे पनि अरू भने भागिसकेका थिए । 

प्रहरीले उनीहरूबाट रू. १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ बरामद गरेको छ । साथै, ९ हजार १०८ अमेरिकी डलर, १ हजार १९१ चिनियाँ मुद्रा, २५० युरो, ५ हजार क्याम्बोडियन र ८० हङकङ डलर बरामद गरेको छ । यस्तै, उनीहरूबाट १३२ नक्कली भिसा कार्ड,  १७ सक्कली भिसा कार्ड, एक थान कार्ड प्रिन्टर मेशिन, ६ थान मोबाइल, एक थान ल्यापटप, एक थान सामसुङ्ग र एक थान डेटा कार्ड पनि बरामद गरिएको प्रहरीको भनाइ छ । 

उनीहरू पर्यटकीय भिसामा शुक्रवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गरेका र सोमवार नेपालबाट फर्किने योजना भएको पाइएको प्रहरीले बताएको छ । उनीहरूले नेपालको सार्वजनिक बिदाको अवसरमा शनिवार एटीएममार्फत रकम झिक्ने योजना विदेशमा नै बनाएको प्रहरीको भनाइ छ । प्रहरीले आइतवार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक पनि गरिसकेको छ । 

आर्थिक अभियानसँग राष्ट्र बैंकका कार्यकारी निर्देशक मिश्रले भने, ‘उनीहरूलाई पक्राउ गर्न सक्दा हामी ठूलो संकटबाट बच्यौं । उनीहरूबाट बरामद रकमले नेपालबाट झिकिएको पैसा लगभग ‘रिकभर’ हुन्छ, भारतबाट झिकिएको रकम प्राप्तिका लागि प्राविधिक रूपमा नै अगाडि बढ्छौं ।’

यस घटनालाई अनुसन्धान गर्न मिश्रको संयोजकत्वमा नै एक समिति बनाइएको छ । उक्त समितिमा बैंकर्स संघ, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को पनि  संलग्नता छ । उक्त समितिले सोमवारदेखि नै आफ्नो काम शुरू गर्ने मिश्रको भनाइ छ  ।

पत्रकार सम्मेलनमार्फत प्रहरीले यस घटनालाई गहिराइमा गएर अनुसन्धान गरिने र यस्ता समस्याको समाधानका उपायसहित प्रतिवेदन तयार गरिने बताएको छ । साथै, फरार अभियुक्तको खोजीका लागि विमानस्थल तथा नाकाहरूमा हुने चेकिङलाई कडाइ गरिएको बताइएको छ । 

प्रहरी उनीहरूलाई बैंकिङ कसुर सजाय ऐनमार्फत मुद्दा अगाडि बढाइसकेको छ । साथै, पाटनस्थित उच्च अदालतले आइतवार नै थप अनुसन्धान गर्नका लागि प्रहरीलाई सात दिनको म्याद दिएको छ । 

यस्तै, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले यस घटनाले बैैंकिङ प्रणालीको प्रविधिमा थप लगानी गर्नुपर्ने आवश्यकता देखाएको बताए । उनले भने, ‘बैंकिङ प्रणालीमा जति प्रविधि भित्रिएका छन्, जोखिम पनि उत्तिकै छ । तर, जोखिम छ भन्दैमा प्रविधिबाट पछि हट्न भएन । हामी प्रविधिलाई सुरक्षित बनाउन थप लगानी गर्छौं  ।’

यस्तै, नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण क्षेत्रीले प्रविधिको प्रयोग गर्दा जोखिम बढ्नु स्वाभाविक भएको बताए । उनले भने, ‘यसको सम्पूर्ण अनुसन्धान गर्ने निर्णय भएको छ । यस सम्बन्धमा विदेशबाट नै प्राविधिक विज्ञ लिएर अनुसन्धान गर्छाैं ।’ नेप्सले भिसा लगायतका विदेशी कार्ड कम्पनीसँग नेपालका बैंकहरूलाई जोड्ने काम गरेको छ ।

पूर्व बैंकर अनलराज भट्टराईले यस घटनाले नेपाली बैंकिङ क्षेत्रमा प्रविधि पूर्वाधारको विकास गर्न सम्बद्ध निकायहरू अझै सजग नभएको बताए । उनले भने, ‘एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलाई नियमन गर्न छुट्टै निकाय बनाउन पर्छ । यस्तो प्रविधि चलाउन अन्य निकायको पनि हात हुँदा राष्ट्र बैंकलाई नियमन गर्न अप्ठ्यारो हुने देखिन्छ ।’

यद्यपि, यो घटना नेपाली बैंकिङ क्षेत्रका लागि नयाँ  होइन । २०७४ कात्तिकमा एनआईसी एशियाको स्वीफ्ट प्रणाली ह्याक भई रकम हराएको थियो । तर, यतिका ठूलो मात्रामा रकम लुटियो भने पनि नेपालमा पहिलो पटक नै हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)