भदौ १७, धनगढी । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले सात ओटै प्रदेशमा प्रदेश समितिहरु गठन गरेता पनि सुदूर प्रदेश समितिले भने अझै जिम्वेवारी पाएको छैन ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट अध्यक्ष, मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक तथा सहसंयोजक प्रदेशका मुख्य सचिव तथा निजी क्षेत्रबाट समिति संयोजकमा परमानन्द भण्डारी सम्मिलित कैलाली, कञ्चनपुर र डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्षलाई समितिको सदस्यमा रहेका छन् ।
यसैगरी निजी क्षेत्रबाट पनि सदस्यमा प्रतिनिधित्व गराइएको छ । १४ जना सदस्य रहेको उक्त समितिले अहिलेसम्म कुनै जिम्मेवारी नपाएको गुनासो पर्यटन वर्ष २०२० का सुदूरपश्चिम प्रदेश समिति संयोजक परमानन्द भण्डारीले गरे ।
भ्रमण वर्ष सफल पार्न सरकारले सरकारी र निजी क्षेत्रको सहभागितामा समिति चयन गरेपनि अहिलेसम्म कुनै बैठक नै बस्न नसकेको यहाँको निजी क्षेत्रले गुनासो गरेको छ ।
भ्रमण वर्ष आउने अव धेरै समय छैन, तर ठोस तयारी अझै अघि बढ्न सकेको छैन, समितिका सदस्य मायाप्रकाश भट्टले बताए ।
यत्तिका समयसम्म समितिको पहिलो बैठक नै बस्न सकेको छैन, यहाँका संभावनाहरु पहिचानमै ढिलाई भइरहेको पनि उनले बताए । सुदूरपश्चिममा किन पर्यटक आउने ? यस बारेमा पनि सोच्नु आवश्यक भइसकेको संयोजक भण्डारीले बताए ।
यहाँका पर्यटकीय सम्पदाहरुको प्याकेज निर्माण, होटलमा छुटको व्यवस्था, शुक्लाफाँटा निकुञ्च प्रवेशमा विशेष छुट तथा जिल्लागत रुपमा प्रमुख पर्यटकीय गन्तव्य स्थल र सहायक पर्यटकीयस्थलको प्याकेजमै व्यवस्था गरेर विशेष गरी भारतीय पर्यटकलाई यो क्षेत्रमा बढाउन सकिन्छ ।
यसका लागि प्रत्येक जिल्लामा समिति गठन आवश्यक देखिएको उनको भनाई छ । कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष समेत रहेको भण्डारीले जिल्लाका होटलहरुमा मात्रै करीब रू.३ अर्ब लगानी भइसकेकाले सुविधाअनुसारको वासको लागि समस्या नभएको बताए ।