ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाहुरबाट रित्तो हात : गाउँको कामले फलिफाप

Sep 4, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

भदौ १८, म्याग्दी । गाउँमा आर्थिक उपार्जनका लागि कुनै सम्भावना नै छैन भन्ने बहाना बनाई विदेश जान मरिहत्ते गर्ने युवाहरुका लागि म्याग्दीका एक व्यक्तिको संघर्ष र त्यसपछि उनले प्राप्त गरेको सफलता उदाहरणीय बन्न सक्ने देखिएको छ ।

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि रित्तो हात गाउँ फर्किएका म्याग्दीको बेनी नगरपालिका वडा नं ४ वास्कुनाका तिलक गुरुङ अहिले गाउँमा नै महीनामा रू.२ लाख ५० हजार कमाउँछन् ।

१५ वर्ष अघि रू.२ लाख ऋण खोजेर साउदी गएका गुरुङ ५ वर्षसम्म काम गर्दा पनि गएको ऋण समेत तिर्न नसक्ने अबस्था आए पछि उल्टो ऋणको भारी बोकेर गाउँ फर्किएका थिए ।
कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्किदा उनको कुरा काट्ने पनि धेरै  भए  ।

गाउँमा सरसापट त परको कुरा ऋणसमेत पत्याउने कोही थिएन  । तर आँटिला र हिम्मतिला गुरुङले हिम्मत भने हारेनन् । आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तीय संस्थाबाट रू.७० हजार ऋण लिए । र भैंसी किनेर दूध बेच्न थाले ।

१० वर्ष अघि एउटा भैंसीपालेर दूध वेच्न थालेका गुरुङ पशुपालन, कुखुरा पालन र सुन्तला खेतीका अगुवा कृषकको रुपमा यतिखेर परिचित छन् ।उनको गोठमा अहिले नौ ओटा दुहुना भैंसी र चार ओटा गाई छन् । उनी हाल दैनिक ६० लिटर दूध विक्री गर्दै आएको पनि बताउँछन् ।

‘दैनिक ६० लिटर दूध विक्री गरेर महीनामा रू.१ लाख ४४ हजार कमाइ हुन्छ’, उनले भने । बेनीमा प्रतिलिटर रू.८० मा दूध विक्री हुन्छ । त्यसैगरी  उनको  कुखुरा फार्ममा ३० हजार कुखुरा छन् ।

गुरुङले भने ‘कुखुराबाट महीनामा रू.३ लाख भन्दा बढी कमाइ हुन्छ ।’ कुखुराको दाना लगायत अन्न खर्च कटाउँदा महीनामा रू.१ लाख भन्दा बढि वचत हुने उनको दावी छ ।

 यतिमात्र होइन, उनले घरवरिपरिको जग्गामा सुन्तला पनि रोपेका  छन् । उनको बारिमा ५०० भन्दा बढी बोटहरुमध्ये ४००ले फल दिन्छन् । सुन्तला बेचेर सिजनमा रू.७ लाख कमाउने गरेको उनले बताए ।

उनका अनुसार वार्षिक रू.४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रू.३० लाख बचत हुने गरेको छ । उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन्, छोराछोरीलाई इञ्जिनीयरिङ समेत पढाएका छन् ।

‘अर्काको देशमा बसेर दुख गर्नु भन्दा आफ्नै देशमा केहि गर्छु भनेर आएँ, सन्तुष्ट छु’, उनले भने । कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको सुनाए ।

अहिले उनी म्याग्दीका कृषकहरु बीच उदाहरणीय बनेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)