ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुक्तापूँजीको विषयमा लचिलो बन्दै बीमा समिति

जगेडा कोषमा रहेको रकम पनि पूँजीकरण गर्न सकिने

Sep 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । तोकिएको न्यूनतम चुक्तापूँजी नपुर्‍याउने बीमा कम्पनीलाई आवश्यक पूँजी थप्न दिने विषयमा बीमा समिति लचिलो भएको छ ।  समितिले साउनको पहिलो साता न्यूनतम चुक्तापूँजी नपुर्‍याउने नौ बीमा कम्पनीलाई स्पष्टीकरण सोेधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभए कम्पनीलाई कारवाही समेत गर्ने चेतावनी दिएको समितिले कारबाही गर्नुको साटो चुक्तापूँजी नपुगेका कम्पनीहरूका सञ्चालक, संस्थापक र आधारभूत शेयरधनीलाई तोकिएको चुक्तापूँजीमा नपुग रकम ‘कल इन एड्भान्स’मा जम्मा गर्न निर्देशन दिने भएको छ ।

कल इन एडभान्समा जम्मा हुने रकमलाई पछि जारी गरिने हकप्रद तथा बोनस शेयरसँग समायोजन (मिलान) गर्न सकिने व्यवस्था पनि समितिले गर्दै छ । बीमा समितिको हालै बसेको सञ्चालक समितिको बैठकले नै यस्तो निर्णय गरेको हो । साथै, जगेडा कोषबाट नाफा बाँड्न मिल्ने रकम पनि चुक्तापूँजीमा मिलान गर्न सकिने व्यवस्था गरिएको छ । 

बीमा कम्पनीहरूको व्यवसाय हाल उत्साहजनक ढंगले अगाडि बढेको अवस्थामा कारबाहीको नीति ल्याउँदा व्यवसायमै नकारात्मक असर पुग्ने डरले कारबाहीको नीति नलिइएको समितिको भनाइ छ । समितिका उपनिर्देशक साम्बराज लामिछानेले भने, ‘कारबाही नीति ल्याउँदा व्यवसायमा नोक्सानी आउने देखियो, त्यसैले चुक्तापूँजी बढाउने विषयमा सुधारात्मक नीति ल्याएका हौं । यदि, यसरी पनि कम्पनीहरूले चुक्तापूँजी पुर्‍याएनन् भने कारबाही प्रक्रिया अगाडि बढाउन सक्छौं ।’

समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफले तोकिएको न्यूनतम चुक्तापूँजी पुर्‍याएका छैनन् । निर्जीवन बीमा कम्पनीतर्फ चुक्तापूँजी नपुगेकाहरूमा एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी जनरल र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा सस्थानको पनि चुक्तापूँजी पुगेको छैन । उक्त संस्थान आफ्नै ऐनअनुसार सञ्चालनमा रहेकाले समितिलाई नियमन गर्ने अधिकार छैन ।  

समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्बको न्यूनतम चुक्तापूँजी पुर्‍याउनुपर्ने हुन्छ ।

हाल नेपालमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी छन् । हाल सूर्या लाइफ इन्स्योन्रेन्सको चुक्तापूँजी भने पुग्ने प्रक्रियामा छ । यसका अलावा अन्य कम्पनीहरूको पूँजी वृद्धि योजना र वित्तीय परिसूचकलाई विश्लेषण गर्दा तोकिएको चुक्तापूँजी पुग्ने सम्भावना देखिएको समितिको भनाइ छ । 

समितिले गुराँस लाइफका सञ्चालकलाई कार्यालयमै बोलाएर संस्थापकतर्फको नपुग रकम कल इन एडभान्समा राख्न निर्देशन दिइसकेको छ । यसका अलावा प्राइम लाइफलाई भने समितिले विशेष साधारणसभा गरेर चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको छ । विशेष साधारणसभाका लागि कम्पनीले समितिबाट सोमवार स्वीकृति पनि लिइसकेको छ । साथै, अन्य कम्पनीहरूलाई पनि यस्तो निर्देशन दिने तयारी भइरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने, ‘पछि कम्पनीले सर्वसाधारण शेयरको अंश ३० प्रतिशत हुनेगरी आईपीओ पनि जारी गर्नुेपर्ने हुनसक्छ ।’

मेट लाइफ, दी ओरियन्टल र नेशनल इन्स्योरेन्स भने विदेशी कम्पनीका शाखा भएकाले उनीहरूको चुक्तापूँजी बढाउनुपर्ने विषयमा अझै निर्णय भएको छैन । हाल भारतको दी ओरियन्टल र नेशनल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन्, त्यसैले उक्त कम्पनीहरू मर्ज भएपछि यस विषयमा निर्णय गरिने बताइएको छ । मेट लाइफले भने अमेरिकास्थित केन्द्रीय कार्यालयमा जोखिममा आधारित चुक्तापूँजी भएकाले यस्तो पूँजी पुर्‍याउनु नपर्ने दाबी गर्दै आएको छ । यस्ता विषयलाई दृष्टिगत गर्दै समितिले उनीहरूको एसाइन पूँजी बनाउने विषयमा तयारी गरिरहेको छ । 

समितिले २०७४ माघ १३ गते जीवन बीमा कम्पनीहरूलाई न्यूनतम चुक्तापूँजी पुर्‍याउन निर्देेशन दिएको थियो । त्यसका लागि समितिले पहिलोपटक २०७५ असार मसान्तसम्मको म्याद दिएको थियो । त्यस अवधिमा कम्पनीहरूले चुक्तापूँजी पुर्‍याउन नसकेपछि समितिले दोस्रोपटक २०७५ पुस मसान्त र तेस्रोपटक २०७६ असार मसान्तसम्मको म्याद दिएको थियो । तर, अब कुनै पनि किसिमको म्याद नथप्ने समितिको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)