ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल वायुसेवा निगमको जापान उडान : ओसाका उडान कटौती अब टोकियोको तयारी

Sep 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
ओसाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान । तस्वीर : आर्थिक अभियान
author avatar टीपी भुसाल

काठमाडौं । पर्याप्त यात्रु नपाएपछि ओसाकाको उडान संख्या कटौती गरेर नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियोमा उडानको योजना बनाएको छ । टोकियोको नारिता विमानस्थलमा पुस महीनाभित्र उडान थाल्ने निगमको योजना छ । ओसाका उडान शुरू गरेकै साता निगमले पूर्वघोषित साताका तीन उडानलाई दुईओटामा झार्ने निर्णय गरेको हो । 

उडान कटौती गर्ने निर्णयलाई निगमले सही बजारीकरण गर्न र उचित समय छनोट गर्न नसकेको आरोप लागिरहेको समयमा निगमले नारिता विमानस्थलका लागि आन्तरिक तयारी थालेको हो ।

निगमको काठमाडौं–ओसाका उडान अब साताको २ दिन मंगलवार र शनिवार मात्रै हुनेछ । तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडानको संख्या घटाइएको हो । यसअघि साताको ३ दिन – मंगलवार, आइतवार र शनिवार ओसाका उडान गर्ने कार्यतालिका थियो । 

ओशाका उडानमा अपेक्षित यात्रु नभएपछि आलोचना खेपिरहेको निगम ओसाका उडान असफल भएको मान्न तयार छैन । त्यसो त, उडान शुरू गर्ने समयमै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कुनै पनि गन्तव्यको कुनै पनि विमान कम्पनीको पहिलो उडानमा जहाजभरि नै यात्रु हुन्छन् भन्ने नभएको तर निगम सकेसम्म बढी यात्रु उडाउने गरी प्रयासरत रहेको बताएका थिए । 

बजार अंश बढाउन निगमले विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरेकाले यसको परिणाम आउन केही समय कुर्नैपर्ने निगमका अधिकारीहरूको भनाइ छ । अहिले ५० प्रतिशतसम्म यात्रु पाए पनि १ वर्षभित्रै त्यसलाई ८० प्रतिशतभन्दा बढी पुर्‍याउन सकिने उनीहरूको विश्वास छ ।

जापान उडानको लागि ७० प्रतिशत अक्युपेन्सी हुँदा खर्च धान्न सक्ने (ब्रेक इभन) अवस्था रहने अधिकारीहरूको भनाइ छ । जापान उडान गर्ने एयरबस ३३०–२०० मा १८ बिजनेश क्लास र २ सय ५६ इकोनोमी क्लासका सीट गरी २७४ सीट क्षमता छ । 

निगमले भदौ १२ गतेदेखि काठमाडौं–ओसाका तथा ओसाका–काठमाडौंका तीन उडानमा ६२९ जना यात्रुले यात्रा गरेका छन् । १२ गतेदेखि जापानको ओसाका पहिलो सिधा उडान शुरू गरेको निगमले त्यसपछि १४ र १७ गते ओसाका उडान गरेका थियो । पहिलो उडानमा नेपालबाट ४३ जना अफिसियलसहित १५६ जनाले यात्रा गरेका थिए । सोही विमानमा फर्किंदा १०० जनाले यात्रा गरेका थिए । 

त्यस्तै दोस्रो उडानमा जाँदा ७६ जना र आउँदा १३८ जना यात्रु थिए भने तेस्रो उडानमा जाँदा ५६ जना र आउँदा १३८ जना यात्रु सहभागी रहेको निगमले जानकारी दिएको छ । तीन उडानमा कुल ६२९ जनाले यात्रा गरेको र त्यसमध्ये ५८६ जना यात्रु र ४३ जना अफिसियल रहको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए । 

जापान उडानको वार्षिक ४३ हजार सीट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रुवहन गर्ने लक्ष्य निगमको छ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै स्थगन गरेको थियो । त्यो समय निगमले बोइङमार्फत काठमाडौं–साङहाई–ओसाका उडान गर्ने गथ्र्याे । अहिले भने वाइड बडी ए–३३०–२०० बाट भने काठमाडौं–ओसाका सिधा उडान हुन्छ । निगमका अनुसार दशैं, तिहार र त्यसपछिको समयमा हालको उडान संख्या बढाइनेछ । निगमले वाइड बडी जहाज ल्याएको १ वर्षपछि पहिलो पटक लामो गन्तव्यका रूपमा जापान उडान गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)