ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : नेपाल र भारतका प्रधानमन्त्रीबाट मंगलवार संयुक्त उद्घाटन

Sep 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आउँदो मंगलवार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइलाइनको उद्घाटन गर्ने तय भएको हो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बताएको छ । अमलेखगञ्ज र मोतिहारीमा स्क्रिनमा यसको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।

‘उद्घाटनको आवश्यकीय तयारी भइसकेको छ,’ नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यसअघि गत साउन २ गते पाइपलाइनको परीक्षण गरिएको थियो । भारतीय आयल निगम (आईओसी)ले पाइपलाइन मार्फत मोतिहारी डिपोबाट डिजेल पठाएको थियो ।

२०६१ सालमा नेपाल र भारतबीच रक्सौल अमलेखगञ्ज पाइपलाइनको सम्झौता भए पनि निर्माण अलमलमा परेको थियो । आइओसीले रक्सौलको पेट्रोलियम डिपोलाई मोतिहारी सार्ने तयारी थालेपछि पाइपलाइन पनि मोतिहारीबाटै बनाइएको हो ।

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर यसको शिलान्यास गरेपछि निर्माणले गति लिएको थियो । गत असारमा पाइपलाइनको काम सकिएको थियो ।

भारत सरकारको ४ अर्ब ४० करोड रुपैयाँ सहयोगमा निर्मित पाइपलाइन मोतिहारीबाट ६९ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमीटर पर्छ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलीटर पेट्रोलियम ल्याउन सकिने एनओसीले बताएको छ ।

एनओसीको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डार क्षमताका ट्यांकी निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनबाट वार्षिक २ अर्ब रुपैयाँ खर्च बचत हुने बताइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावटलगायतका समस्या समाधान हुने दाबी गोइतले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)