ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

३९ देशसँग हवाई सम्झौता, नौ देशमा उडान

Sep 8, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले थप चार देश  फिनल्यान्ड, इन्डोनेशिया, रूस र अस्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । यी मुलुकमध्ये रूस पहिले सम्झौता तथा उडान समेत भएको तर हाल उडान बन्द भएको मुलुक र अन्य मुलुक नयाँ हुन् । 

नेपालसँग हवाई सम्झौता गर्नेे कम्बोडिया ३९ औं देश हो । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । २०७५ मङ्सिरमै थाइल्यान्ड र जापानसँग हवाई सम्झौताको नवीकरण गरेको थियो । यस्तै नेपाल र चीनबीच गत साउन ९ र १० गते हवाई सेवा सम्झौता पुनरवलोकन भएको छ । चीनको राजधानीमा भएको द्विपक्षीय वार्तामा सातामा ७० उडान गर्न पाउने प्रावधानमा थप गरी ९८ पुर्‍याइएको छ ।

नेपालले आशियान क्षेत्रमा इन्डोनेशियासँग मात्र सम्झौता गर्न बाँकी रहेकोले ऊसँग सम्झौता भएमा अस्ट्रेलियाका लागि उडान रूट सहज हुने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । ‘यो क्षेत्रमा इन्डोनेशिया बाहेक सबै मुलुकसँग सम्झौता भएको छ । अहिले वार्षिक ५० हजारभन्दा बढी नेपाली इन्डोनेशिया जाने गरेको र १५ हजार जति इन्डोनेशियाली नेपाल आउने गरेको तथ्याङ्क देखिन्छ । यसैले पनि यो मुलुकसँगको सम्झौताका लागि पहल भएको हो,’ आचार्यले भने । पछिल्लो समय नेपाली घुम्न तथा हनिमुन मनाउन इन्डोनेशिया जाने क्रम बढ्दै गएको छ । 

पछिल्लो पटक कम्बोडियासँग भएको सम्झौतामा नेपालका वायुसेवा कम्पनीले हप्तामा १४/१४ पटक सीधा हवाई उडान गर्नसक्ने उल्लेख छ । तर, हालसम्म यो कार्यान्वयनको अवस्थामा देखिँदैन । निगमलाई कम्बोडियामा गन्तव्य विस्तार गर्ने बाटो खुले पनि निगमको प्राथमिकतामा कम्बोडिया छैन । लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र पर्यटकलाई यसले सोझो फाइदा पुग्न सक्ने सरकारको 
आकलन छ । 

तीन दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता भए पनि नेपाली हवाई सेवाप्रदायकले ती सबै अन्तरराष्ट्रिय गन्तव्यमा उडान तथा अवतरणको स्वीकृति भने पाउन सकेका छैनन् ।

नेपालले हालसम्म नौओटा देशसँग मात्र हवाई उडान सञ्चालन गरेको छ । नेपालले उडान गरेका मुलुकमध्ये नेपाल वायुसेवा निगमले भारत, मलेशिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (दुबई), कतार, हङकङ र जापान गरी सात देशका नौ गन्तव्यमा उडान गरिरहेको छ । 

निगमले भारतका दिल्ली, मुम्बई र बैंगलोर गरी तीन गन्तव्यमा उडान गरिरहको छ भने अन्य देशका एक–एक गन्तव्यमा उडान गरेको छ । निगमले भदौ १२ गतेदेखि जापानको ओशाकामा उडान शुरू गरेको हो । निगमले जापानकै टोकियोमा उडानका लागि थप तयारी थालेको छ । यस्तै चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको नेपाल वायुसेवा निगम चिनियाँ सेफ्टी अडिटको पर्खाइमा छ ।

हिमालय एयरलाइन्सले मलेशिया, दुबई (युएई), कतार, बंगलादेश र साउदी अरेबिया गरी पाँच गन्तव्यमा उडान गरिरहेको छ । हिमालयले चीनका चारओटा गन्तव्यमा उडानको तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । हिमालय एयरले भने  चिनियाँ सेफ्टी अडिट सम्पन्न गरिसकेको छ । 

निगम र हिमालयले बनाएको योजना अनुरूप उडान भए भने पनि नेपाली विमानले उडान गर्ने एउटा मात्र देश (चीन) थपिनेछ । अन्तरराष्ट्रिय उडानमा हालै मात्र अनुभव लिँदै गरेको बुद्ध एयरले एटीआर जहाज मार्फत भारतका केही शहरमा उडान गरिरहेको छ भने श्री एअरले पनि अन्तरराष्ट्रिय उडानको अनुमति पाएको छ । तर, यी दुवै एयरलाइन्सले भारत र भुटानसम्मको मात्र उडान गर्ने योजना छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)