ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं टिकट बुकिङ भदौभित्र खुल्ने

भाडा नबढ्ने सरकारको दाबी

Sep 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंमा राजधानीबाट बाहिरिने बस टिकटको अग्रिम बुकिङ भदौभित्रै खुल्ने बताएको छ । विभागले यसै साता राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी अग्रिम बुकिङ खुला गर्न लागेको हो । 

‘महासंघले भाडा समायोजन गर्नुपर्ने माग राखेको छ,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘तर, दशैंअगाडि भाडा समायोजन हुँदैन ।’ हमालले विभागले भाडा समायोजन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गर्न सकिने बताए ।  

महासंघले पनि सरकारसँग छलफल भइरहेको र अग्रिम टिकट खुलाउने पहलमै आफू लागेको बताएको छ । भाडा समायोजन आफ्नो माग रहे पनि यसको अन्तिम निर्णय सरकारले गर्नेे महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । ‘भाडा वृद्धिका लागि हामीले कुनै बार्गेनिङ गरेका छैनौं,’ उनले भने, ‘प्रत्येक आर्थिक वर्षमा विभागसँग छलफल हुने गरेको छ, यो छलफल पनि त्यसैको निरन्तरता मात्रै हो ।’ 

उनले विगतदेखि आफूहरूले भाडा समायोजन गर्नुपर्ने बताए पनि समायोजन भनेको भाडा बढाउनु नभएको प्रस्ट्याए । ‘समायोजन गर्दा घटाउनुपर्ने ठाउँमा भाडा घट्न पनि सक्छ,’ उनले भने, ‘वैज्ञानिक भाडादर निर्धारण गर्न भने पनि हामी कहिल्यै भाडा बढाऊ भन्दैनौं ।’

सरकारले यसअघि २०६५ फागुनमा बसमा लागेको लागत र अपेक्षित आम्दानीलाई आधार मानी वैज्ञानिक भाडादर निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार प्रत्येक आर्थिक वर्षको शुरूमा बजार मूल्य सर्वेक्षण गरी गाडीमा लाग्ने १४ ओटा पार्टस्, गाडी कर्जा, चालक/सहचालकको तलब र पेट्रोलको मूल्यको आधारमा भाडादर समायोजन गर्ने भनिएको थियो । महासंघले यही निर्णय लागू गर्न सरकारलाई दबाब दिइरहेको छ ।

गतवर्ष पनि दशैंको अग्रिम बुकिङ अगाडि महासंघले सरकारलाई यस्तै दबाब दिएको थियो । सरकारले १० प्रतिशत गाडी भाडा बढाएपछि मात्रै महासंघले टिकट बुकिङ खुला गरेको थियो । वर्षेनि दशैंको समयमा करीब २५ लाख मानिस राजधानीबाट बाहिरिने अनुमान गरिन्छ । काठमाडौं बाहिरिनेका लागि सहजीकरण गर्न हरेक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था हुने गरेको छ । 

सरकारले यातायात समितिलाई खारेज गरी जेठ १८ देखि सबै समितिलाई कम्पनीमा रूपान्तरण गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले हालसम्म दशैंका लागि नयाँ गाडी नथपिएकाले भएकै गाडीको प्रयोग गरी उचित व्यवस्थापन गर्नुपर्ने बाध्यता भएको बताए । यातायात व्यवसायीका अनुसार दशैंको समयमा राजधानीबाट बाहिरिने लामो दूरीका बसहरूको संख्या अरू बेलाभन्दा तीन गुणा बढ्छ । उनीहरूका अनुसार दशैंको घटस्थापनादेखि काठमाडौंबाट दैनिक बाहिरिने बसको संख्या ३ हजारभन्दा बढी हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)