ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकै वर्षमा २६% बढ्यो जीवन बीमा गर्नेको संख्या

Sep 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ मा १२ लाख १ हजार ४६३ व्यक्तिले जीवन बीमा गरेका छन् । यो अघिल्लो आव २०७४/७५ को तुलनामा झन्डै साढे २ लाख (२५ दशमलव ९७ प्रतिशत) बढी हो । अघिल्लो आवमा ९ लाख ५३ हजार ७४९ ले जीवन बीमा गरेका थिए ।

बीमा समितिका अनुसार हालसम्म ५५ लाख ४४ हजार ९९८ अर्थात् १९ प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् । यद्यपि, समितिले गत आवमा बीमाको पहुँच २० प्रतिशत नेपालीमा पुग्ने अपेक्षा लिएको थियो । 

समितिका एक उच्च अधिकारीले भने, ‘असारसम्म २० प्रतिशत पुग्ने अपेक्षा थियो । तर, त्यसको नजीक मात्र पुग्न सफल भयौं ।’ अघिल्लो आवसम्म बीमाको पहुँच १४ प्रतिशत नेपालीमा पुगेको थियो ।

एउटै व्यक्तिले दुईभन्दा बढी बीमालेख लिने हुँदा दोहोरिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने अन्तरराष्ट्रिय प्रावधान छ । समितिले पनि सोही प्रावधानअनुसार बीमाको पहुँच गणना गरेको हो । साथै, चालू आवमा बीमाको पहुँच २५ प्रतिशत नेपालीमा पुर्‍याउने लक्ष्य लिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यस तथ्यांकमा सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालाई भने समावेश गरिएको छैन । वैदेशिक रोजगारमा जाने कामदारले गर्ने उक्त बीमासहित कुल ७२ लाख ८ हजार १०५ नेपाली हालसम्म बीमाको दायरामा आएको देखिन्छ, जुन कुल जनसंख्याको २४ प्रतिशत हो । हालसम्म १६ लाख ६१ हजार १०७ ले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका छन् ।

७२ वर्षको इतिहास बोकेको नेपालको बीमा क्षेत्रले लामो समयसम्म गति लिन सकेको थिएन । तर, २ वर्षअगाडि १० जीवन बीमा कम्पनी थपिएपछि र नियामक निकायले पूँजी बढाउनेजस्ता नीति ल्याएपछि बजारमा प्रतिस्पर्धा बढेको छ ।

त्यसपछि पुराना कम्पनीहरू पनि सक्रिय हुन थालेका छन् ।

यस क्रममा बीमा समितिले पनि निरीक्षण, नियमन, सुपरिवेक्षणलाई सक्रिय बनाउँदै नीतिगत सुधारमा जोड दिँदै आएको छ । कार्यकारी निर्देशक पौडेलले भने, ‘अहिले कम्पनीको शाखा सबै जिल्लामा पुगेको छ । साथै, आम मानिसमा बीमाप्रतिको विश्वास पनि बढ्दै गएको छ ।’ कम्पनीहरूले बढी रिटर्न दिने प्रडक्ट ल्याएकाले र बैंकहरूले समेत संस्थागत अभिकर्ताका रूपमा काम गरेकाले पनि बीमा गर्नेको संख्या बढेको उनको भनाइ छ । 

आर्थिक अभियानसँग कुरा गर्दै सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले आगामी दिनहरूमा बीमा गर्नेको संख्या अझ उच्च रूपमा बढ्ने विश्वास व्यक्त गरे । ‘हालसम्म बीमाले निम्न वर्गका नागरिकलाई समेट्न सकेको छैन । अब उनीहरूलाई पनि बीमामा ल्याउनुपर्छ,’ उनले भने, ‘बीमा सम्पन्न वर्गका लागि भन्दा पनि विपन्न वर्गका लागि हो ।’

युनियन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बीमितको संख्या बढाउन बीमा जागरण पनि ल्याउनुपर्ने बताए । उनले भने, ‘अहिले वैदेशिक रोजगार र घरेलु व्यवसायले मानिसहरू सम्पन्न हुँदै गएका छन् । 

तर, शिक्षाको अभावका कारण उनीहरूले बीमा मार्फत भवितव्य जोखीमको रक्षावरण गर्न चाहँदैनन् ।’ जनतामा बीमाबारे जागरण बढाउन विभिन्न तहका शैक्षिक पाठ्यक्रममा नै यो विषय समावेश गर्नुपर्र्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)