वीरगञ्ज । नेपालको समुद्रपार व्यापारका लागि प्रस्तावित भारतको ओडिसा राज्यस्थित धाम्रा बन्दरगाहले रेल र सडक मार्ग विस्तारको योजना अघि बढाएको छ । अहिले बन्दरगाहबाट आफ्नै स्वामित्वमा ६० किलोमिटर एक लेनको रेलमार्ग सञ्चालन गरिरहेको बन्दरगाहले कार्गोको बढ्दो चापलाई व्यवस्थापन गर्न पूर्वाधार स्तरोन्नति गर्न लागेको हो ।
रेलसँगै दुई लेन सडक निर्माणलाई अघि बढाइएको धाम्रा पोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकृत सुदीप दासगुप्ताले बताए । कम्पनीले गैरसरकारी रेल सेवाअन्तर्गत बन्दरगाहबाट भठाथिरासम्म आफ्नै रेल लाइन चलाएको छ । ‘यो बन्दरगाहबाट आयातनिर्यातको परिमाण वर्षेनि बढिरहेको छ,’ दासगुप्ताले आर्थिक अभियानसित भने ‘कार्गोको चापलाई व्यवस्थापन गर्न पूर्वाधार विस्तारमा लागेका छौं ।’
धाम्राले सन् २०१८/१९ मा २ करोड ७ लाख मेट्रिक टन (मेट) कार्गो हेन्डेलिङ गरेको थियो । चालू यो वर्ष २०१९÷२० का लागि यो लक्ष्यलाई २ करोड ७० लाख मेट पुर्याइएको छ । कम्पनीको गुरुयोजनामा ३२ करोड ५ लाख मेट कार्गो व्यवस्थापनको लक्ष्य राखिएको छ । नेपाल र भारतबीच यो बन्दरगाह उपयोगको सम्झौता भएमा नेपालको समुद्रपार व्यापारमा पारवहनको खर्च कटौती हुन सक्छ । नेपालले भोग्दै आएको पारवहनका असहजता समाधानमा धाम्रा बन्दरगाह उपयुक्त विकल्प बन्न सक्ने कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल बताउँछन् ।
धाम्रा बन्दरगाह उपयोगको बाटो खुला भए तेस्रो मुलुकसँगको आयातनिर्यातको लागत न्यूनीकरणमा योगदान पुग्ने विश्वास सरोकारका सरकारी अधिकारीहरूको छ । ‘यो प्रस्तावित बन्दरगाह उपयोगमा आएमा कोलकाता बन्दरगाहको अपर्याप्त पूर्वाधार र विशाखापत्तनम्को अधिक दूरीका कारण आयातमा परिरहेको कठिनाइले निकास पाउन सक्छ,’ महावाणिज्यदूत अर्यालले आर्थिक अभियानलाई बताए ।
नेपालको वैदेशिक व्यापारको अवस्थालाई नजीकबाट बुझेका पूर्वसहसचिव रविशंकार सैंजु धाम्राले विस्तार गरिरहेको रेल र सडकबाट नेपाली आयातनिर्यातले लाभ लिन सक्ने बताउँछन् । धाम्राले २ वर्षभित्रै रेल लाइनलाई दुई लेनमा स्तरोन्नति र दुई लेनको सडक बनाइसक्ने बताएको छ । पाइपलाइन निर्माणको योजना पनि बन्दरगाहले बनाएको छ । यी योजनाका लागि बन्दरगाहबाट भठाथिरासम्म रेल लाइनको छेउमा १२५ मिटर फराकिलो जग्गा लिइसकिएको दासगुप्ताले जानकारी दिए ।
रेलमार्ग स्तरोन्नतिका लागि भारतीय रुपैयाँ (भारू) १० अर्ब र सडकका लागि २ अर्ब २५ करोड खर्चको अनुमान गरिएको छ । सडकका लागि ओडिसा राज्य सरकार, डिफेन्स रिसर्च अर्गनाइजेशन र अदानी समूहले लगानी गर्नेछन् । यो बन्दरगाह सन् २०१४ देखि अदानी समूहले सञ्चालन गर्दै आएको छ । रेल मार्ग विस्तारको आंशिक काम शुरू भइसकेको छ । सडक निर्माणका लागि ठेक्का भइसकेको छ ।
सडक मार्गको पहुँच नभएकाले अघिल्लो वर्ष कन्टेनर कार्गोका लागि सबै पूर्वाधारको प्रबन्ध मिलाएर पनि बन्दरगाह पछि हटेको थियो । रेल र सडक दुवै पूर्वाधार उपलब्ध भएपछि वीरगञ्जबाट हजार किलोमिटर टाढा रहेको यो बन्दरगाह नेपाली आयातकर्ताका लागि सहज विकल्प बन्ने देखिएको छ । नेपालको मुख्य नाका वीरगञ्जबाट कोलकाता ७ सय र विशाखापत्तनम् १ हजार ४०० किलोमिटर दूरीमा छन् ।
अहिले बल्क कार्गोमा केन्द्रित बन्दरगाहमा कन्टेनर कार्गो व्यवस्थापनका सबै पूर्वाधार तयारी अवस्थामा रहेको बन्दरगाहले बताएको छ । कन्टेनर हेन्डेलिङका लागि कन्टेनर फ्रेट स्टेशन (सीएफएस) निर्माणको पनि तयारी भइरहेको धाम्रा बन्दरगाहले बताएको छ ।
अहिलेसम्म नेपालका लागि बल्क कार्गो बढी आउने हल्दियाबाट यो बन्दरगाह १५० किलोमिटरमात्र टाढा छ । हल्दियामा रेलको उपलब्धता नहुँदा ६ महीनासम्म कुर्नुपर्ने अवस्था रहेको आयातकर्ता माधव राजपाल बताउँछन् । निजी स्वामित्वका ५ ओटा रेल सञ्चालन गरिरहेको बन्दरगाहले सन् २०२१ भित्र रेलको संख्या ३५ पु¥याउने कम्पनीका बजार प्रबन्धक अमन शरणले बताए ।
गत मार्चमा नेपाल–भारत अन्तरसरकारी बैठकमा धाम्रा र गुराजतको मुद्रा बन्दरगाहको उपयोगमा सैद्धान्तिक सहमति जुटेको थियो । समुद्री किनारमा रहेको धाम्रामा पानीको न्यूनतम गहिराइ १८ मिटर छ । यो विशाखापत्तनम्भन्दा २ मिटर बढी हो । यी बन्दरगाहमा मदर भेसल्स (ठूला पानीजहाज) आउन सक्छन् । ठूला पानीजहाज आउन समुद्रको गहिराइ बढी हुनु पर्दछ । नहरमा आधारित कोलकाता र हल्दियामा क्रमशः ६ र ८ मिटर छ । यहाँ साना पानीजहाजमात्र आउँछन् । साना भेसल्समा ढुवानी गर्दा लागत बढी पर्ने आयातकर्ता बताउँछन् ।