ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा १८ वर्षपछि गुड्न थाले विद्युतीय बस

Sep 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । ट्रली बस बन्द भएको १८ वर्षपछि मुलुकको सार्वजनिक यातायातमा विद्युतीय बसको पुनरागमन भएको छ । निजीक्षेत्रको सुन्दर यातायातले सोमवार काठमाडौंको सडकमा चार विद्युतीय बस उतारेको छ । रमाइलो संयोग के भने ट्रली बस पनि चीनको सहयोग÷उत्पादन थियो, यी बस पनि चीनमै बनेका हुन् ।

विद्युतीय बस सेवा उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने नेपालमा पहिलोचोटि विद्युतीय बस चलेको यही हो भन्दै सुन्दर यातायातको उत्साह बढाउने प्रयास गरे । ‘पहिलोपटक नेपालमा विद्युतीय बस चल्न लागे पनि यसले सुदूर लक्ष्य राखेको छ,’ मन्त्री पोखरेलले भने, ‘आगामी दिन अझै चुनौतीपूर्ण भएकाले हाम्रो तर्फबाट साथ सहयोग रहनेछ ।’

चिनियाँ कम्पनी बीएकेसँग रू. ११ करोड ५५ लाखमा किनिएका सात बसमध्ये हाल सन्चालित चार बस चक्रपथ परिक्रमा, नारायणथान–मेडिसिटी अस्पताल, गोंगबु–सल्लाघारी र ढुङ्गेधारा–जोरपाटी रूटमा चल्नेछन् । चारै रूटमा ३ दिनसम्म सित्तैमा सेवा दिने सुन्दर यातायातले घोषणा गरेको छ ।

हालसम्म सरकारले विद्युतीय बसको भाडा निर्धारण गरेको छैन । भाडा निर्धारण नभएसम्म अन्य बसमा भन्दा २० प्रतिशत कम भाडा लिएर चलाउने सुन्दर यातायातले बताएको छ । कम्पनीले नगदरहित भुक्तानीका लागि ‘काठमाडौं सुन्दर कार्ड’ प्रयोगमा ल्याउने भएको छ जो २१५ रुपैयाँमा किन्न सकिनेछ । बाँकी तीन बसको रूट पर्मिट पाएपछि अन्य रूटमा पनि बस चलाउने बताइएको छ । 

३० र ४० सीट क्षमताका विद्युतीय बस एकपटक ६ घण्टा चार्ज गरेपछि २६५ किलोमिटर गुड्छन् । यसका लागि कम्पनीले बीएकेको आर्थिक सहयोगमा सुकेधारा, सीतापाइला र चाबहिलमा चार्जिङ स्टेशन बनाएको छ । 

सुन्दर यातायातले डेढ वर्षअघि नै काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको थियो । कम्पनीका अध्यक्ष भेषबहादुर थापा भन्छन्, ‘तर, नीतिगत अन्योल रह्यो । विद्युतीय बस सञ्चालन गर्ने भने पनि सरकारले यसका लागि वातावरण बनाएन ।’  

अहिले पनि सरकारले आफ्नो वचन पूरा नगरेको थापाले बताए । ‘सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्न चार्जिङ स्टेशन आयातमा भन्सार छूट दिने भनेको थियो, तर त्यस्तो छूट दिएन । हामीले ३७ प्रतिशत भन्सार शुल्क तिरेर आयात गर्‍यौं,’ उनले भने, ‘हाम्रो आगामी योजना १७ ओटा चार्जिङ स्टेशन स्थापना गर्ने रहेको छ ।’  

यसैबीच, सरकारले आफ्नै लगानीमा ३०० ओटा विद्युतीय बस ल्याउन लागेको छ । बस खरीद तथा सञ्चालनको जिम्मा साझा यातायातलाई दिइएको छ र साझाले यही महीनाभित्र टेन्डर खोल्ने तयारी गरेको छ । कम्पनीका अध्यक्ष भूषण तुलाधरका अनुसार यही आर्थिक वर्षभित्र साझाले ५० ओटा विद्युतीय बस सञ्चालन गर्नेछ ।

त्यसो त गतवर्ष कात्तिकमा चिनियाँ कम्पनी बीवाईडीका पाँचओटा विद्युतीय बस काठमाडौंमा ठूलै कार्यक्रम गरेर प्रधानमन्त्री के पी ओलीद्वारा उद्घाटन गरिएको थियो । एशियाली विकास बैंक (एडीबी) को रू. २९ करोड सहयोगमा खरीद गरिएका ती बस त्यसपछि सञ्चालनमा आएनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)