ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन : वार्षिक १ अर्बभन्दा बढी ढुवानी खर्च बच्ने

Sep 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट संयुक्त रूपमा पाइपलाइनको उद्घाटन गर्दै ।
author avatar ओमप्रकाश खनाल author avatar युवराज बस्नेत

वीरगञ्ज । लामो समयदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मंगलवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पेट्रोल ढुवानीका लागि कोसेढुंगा मानिएको ६९ किलोमीटर लामो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा गरे ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । तर, सो परियोजना विविध कारणले १ दशकभन्दा बढी समय रोकिएर रहेको थियो । २०७४ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यसलाई अगाडि बढाउन नेपाल र भारत सहमत भए । सोही अनुरूप प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा स्वीच थिचेर यस परियोजनाको शिलान्यास गरेका थिए । 

पाइपलाइन उद्घाटनसँगै दुवै प्रधानमन्त्रीले भिडियो कन्फरेन्स मार्फत सम्बोधन समेत गरेका थिए । प्रधानमन्त्री ओलीले पाइपलाइनको सञ्चालनले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने समय बचत हुनुका साथै वायुप्रदूषणलाई कम गर्ने बताए । ‘यसबाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ,’ उनले भने । 

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइनको उद्घाटनले नेपाल र भारतबीचको साझेदारी थप गहिरो र गाढा बन्ने विश्वास प्रकट गरे । अन्तरदेशीय पाइपलाइन अनुमान गरिएभन्दा आधा समयमै बन्न सफल भएकोमा सन्तोष व्यक्त गर्दै मोदीले त्यसको श्रेय दुवै सरकारको संयुक्त प्रयासलाई जाने समेत बताए ।

उद्घाटनसँगै मंगलवारदेखि नै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जमा पाइपलाइन मार्फत डिजेल आपूर्ति हुन थालिसकेको छ । ३० महीनामा सक्ने योजनासाथ शुरू गरिएको यो परियोजनाको काम डेढ वर्षमै सम्पन्न भई तेल आपूर्ति शुरू भएको हो ।

नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट शुरूमा डिजेल मात्रै आउनेछ । पाइपलाइनबाट १ वर्षसम्म डिजेल मात्र आयात गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेशन (आईओसी) बीच समझदारी भइसकेको छ । 

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन दक्षिण एशियामै यस किसिमको पहिलो अन्तरदेशीय पाइपलाइन हो । त्यसो त भारतले अहिले बंगलादेशसम्म पनि यस्तै पाइपलाइन निर्माण गरिरहेको छ । 

पाइपलाइनबाट प्रतिघण्टा २९४ किलोलिटर अर्थात् २ लाख ९४ हजार लिटरका दरले डिजेल आउनेछ । यसरी आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ ओटा र ३९ लाख लिटर क्षमताका २ ओटा गरी १ करोड ६० लाख लिटर अट्ने चारओटा ट्यांकी अमलेखगञ्जमा निर्माण भइसकेका छन् ।
अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजेलको माग भएकाले अन्य नाकाबाट डिजेल लिन भारत जाने नेपाली ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजेल लैजान सक्ने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले बताए । 

निगमका अनुसार पाइपलाइनको निर्माणपछि ढुवानी बापत एक अर्बभन्दा बढी रकम जोगिने छ । पाइपलाइनको सञ्चालनपछि रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास निगमका अधिकारीहरूको छ । 

आगामी दिनमा अमलेखगञ्जमा भण्डारणगृहको क्षमता  बढाउने तथा पाइपलाइन परियोजनालाई चितवनसम्म विस्तार गर्न रूट सर्वे सम्पन्न भइसकेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर रु. २ घट्यो
पाइप मार्फत तेल आउन थालेपछि निगमले मंगलवार नै पेट्रोलियम पदार्थ– डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । मंगलवार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर २/२ रुपैयाँ घटाइएको निगमले बताएको छ । मूल्य घटेसँगै प्रतिलिटर मूल्य डिजेल–मट्टीतेलको ९५ रुपैयाँ र पेट्रोलको १०७ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)