ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन प्रवर्द्धनका लागि नेपाल इन्डिया चाइना एक्स्पो ‘नाइस’ आयोजना हुने

Sep 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २५, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल इन्डिया चाइना एक्स्पो ‘नाइस’ आयोजना गर्ने भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी सन् २०२० को फेब्रुअरी २१ देखि २४ तारिखसम्म एक्स्पो आयोजना हुने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । एक्स्पोमा नेपालका निकट छिमेकी चीन र भारतबाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु सहभागी हुने बुधवार संघीय राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालको भारत र चीनसँग दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहदैं आएको भएपनि त्रिदेशीय पर्यटन प्रवर्द्धनका निम्ति भने यो पहल पहिलो भएको पाटाले जानकारी दिएको छ । पाटाले नेपाललाई हिमालयको प्रवेशद्वारका रुपमा ब्राण्डिङ गर्दै हिमालयन ट्रावल मार्ट समेत गर्दै आएको छ । जुन नेपाललाई अन्तरराष्ट्रिय पर्यटन बजारमा चिनाउने प्रमुख कार्यक्रम समेत बन्ने गरेको छ ।
 
हिमालयन ट्रावल मार्ट विश्वस्तरीय कार्यक्रम भएको सन्दर्भमा क्षेत्रीयस्तरको तीनओटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसरहरु पहिचान गर्न र तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन ‘नाइस’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । ‘पर्यटन सम्बद्ध संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु थप्न एक्स्पो महत्वपूर्ण मञ्च बन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

नेपाल दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थतन्त्र एवम् बृहत पर्यटन स्रोत बजारहरुको बिचमा अवस्थित भएकोले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र विस्तारका लागि यो एक्स्पोले सहयोग गर्ने ‘नेपाल भ्रमण वर्ष २०२०’ का संयोजक सुरज वैद्यले बताए । उनले नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने बताए ।

चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार भएकोले यसको केही प्रतिशत पर्यटक मात्रै बढाउन सके नेपालमा पर्यटक आगमन बढ्ने होटल संघ नेपाल ‘हान’ का अध्यक्ष सृजना राणाले बताइन् । दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको र पर्यटक आगमन बढाउन एक्स्पोबाट सहयोग पुग्ने पाटाका महासचिव विभूतीचन्द ठाकुरले बताए ।

सन् २०१८ को तथ्यांक अनुसार चीनबाट वार्षिक १५ करोड (१५० मिलियन) पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ प्रतिशतले र २ करोड ५८ लाख ५० हजार (२५.८५ मिलियन) भारतीय आउटबाउन्ड पर्यटकहरुमध्ये ०.७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा भारतबाट १ लाख ७८ हजार १३० जना र चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यी दुई नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख मुलुक हुन् । भारत र चीन पछि क्रमशः अमेरिका, बेलायत र जर्मनी नेपालमा बढी पर्यटक आउने मुलुकमा पर्छन् ।

नाइस एक्स्पोमा हामीले २०० भन्दा बढी क्रेताहरु, १०० विक्रेताहरु, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १ हजारभन्दा बढीको सहभागिता रहने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)