ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास सम्मेलन गर्दै धनगढी उपमहानगरपालिका

Sep 13, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्ने भएको छ । उपमहानगरपालिकासँग साझेदारको रूपमा काम गर्दै आएका अन्तरराष्ट्रिय दातृ निकायलाई आमन्त्रण गरी कात्तिक अन्तिम साता दुईदिने सम्मेलन गर्न लागिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर बडले जानकारी दिए । सम्मेलनका लागि उपमहानगरपालिका सरोकार निकायसँग छलफलमा जुटेको उनले बताए ।

उक्त सम्मेलन सम्पन्न गर्न उपमहानगरपालिकाले साढे ३ लाख रुपैयाँ छुट्याइसकेको जानकारी बडले दिए । ‘उपमहानगरपालिकाको तर्फबाट लगानीयोग्य क्षेत्रको पहिचान र आवश्यक पर्ने लगानी सहितको ढाँचा दातृ निकायसमक्ष प्रस्तुत गरिने,’ उनले भने ।

सम्मेलनका लागि वित्तीय सहयोग जुटाउन विभिन्न स्थानीय तहसँग समेत छलफल भइरहेको उपमहानगरपालिकाले बताएको छ । ‘सम्मेलनको सबै खर्च हामी बेहोर्न सक्दैनौं,’ बडले भने, ‘उपमहानगरपालिकासँग साझेदारीमा काम गरिरहेका दातृ निकायले नै आफ्नो खर्च आफै गर्नेगरी सम्मेलन आयोजना गर्न लागेका छौं ।’ धनगढी क्षेत्रको गरीबी, खानेपानी समस्या, पूर्वाधार, कृषि, पर्यटन, उद्योगलगायत सम्भावना र लगानीको खाका प्रस्तुत गरेर अन्तरराष्ट्रिय लगानी जुटाउन लागिएको उनले बताए ।

विकास सम्मेलनका लागि जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, अगुवा, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतसँग सुझाव संकलन गरिसकिएको बडले जानकारी दिए । ‘यसअघि राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँग पनि छलफल भइसकेको छ,’ उनले भने, ‘सबै क्षेत्रबाट आएका सुझाव अनुसार सम्मेलन सञ्चालनको ढाँचा तयार गरिनेछ ।’ विकास सम्मेलनले विकासका लागि आवश्यक क्षेत्रहरू पहिचान गर्ने र सोही अनुसार लगानीकर्तालाई धनगढीमा भित्र्याउन सकिने अपेक्षा उनले गरे ।

धनगढी उप–महानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले विकास सम्मेलन यस प्रदेशकै लागि पहिलो हुने बताइन् । विकास सम्मेलनलाई कसरी परिणाममुखी बनाउन सकिन्छ भन्नेबारे आवश्यक छलफल तथा अन्तरक्रिया भइरहेको उनको भनाइ छ । ‘विकास सम्मेलनको पहिलो उद्देश्य धनगढी उप–महानगरपालिकाको विकासको अवस्था, सम्भावना, चुनौती पत्ता लगाउने नै हो,’ उनले भनिन्, ‘त्यसका बारेमा दाताहरूलाई अवगत गराइनेछ ।’ 
धनगढी उप–महानगरपालिकाले गरिरहेको काम, प्रगतिको अवस्था लगायतबारे सम्मेलनमा छलफल गरिने उप–महानगरपालिकाका डिभिजनल इन्जिनीयर डिजराज भट्टले बताए । नेपाल रेडक्रश सोसाइटी, कैलालीका सभापति उत्तम जोशीले विकास सम्मेलनको तयारी अन्तर्गत प्राथमिकताका क्षेत्रहरूको पहिचान पहिलो काम भएको औंल्याए । यस्तै उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले विकास सम्मेलनले यस क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने आशा गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)