ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ड्युटी फ्री शप पुनः सञ्चालन गरिने

Sep 16, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ११ वर्षपछि ड्युटी फ्री शप पुनः सञ्चालन गरिने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले यसका निम्ति विक्री गरिने सामानहरूको सूची सहितको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका छन् । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएको समयदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ड्युटी फ्री शप बन्द छ । 

विदेशी तथा नेपाली यात्रुहरूले अन्तरराष्ट्रिय टर्मिनलमा ड्युटी फ्री शप हुनुपर्ने सुझाव दिएको आधारमा मन्त्रालयले यो तयारी अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । ‘विगत ११ वर्षदेखि ड्युटी फ्री शप बन्द छ । यो खुल्नुपर्छ भन्ने विभिन्न क्षेत्रको माग अनुसार पर्यटन मन्त्रीबाट निर्देशन आएको छ । सरकारले निर्णय गरेको आधारमा विमानस्थल कार्यालयले थप काम अगाडि बढाउनेछ,’ उनले भने ।

विमानस्थलको समग्र सुधारको कार्ययोजना अनुसार मन्त्री भट्टराईले अन्य निर्देशन समेत दिएका छन् । केही दिनअघि मन्त्रीले सार्वजनिक गरेको मन्त्रालयका प्राथमिकता प्राप्त १४१ बुँदे कार्ययोजनामा विमानस्थल सुधार समेत प्राथमिकताको विषय थियो ।

मन्त्री भट्टराईले विमानस्थलमा आकस्मिक र आवश्यकताका आधारमा मात्र यात्रु चेक जाँच गर्न निर्देशन दिएका छन् । यात्रुहरूले विमानस्थल आगमन र भन्सार क्षेत्रमा मेटल फ्रीको नाममा अनावश्यक सास्ती बेहोर्नु परेको भन्ने गुनासोका आधारमा सम्बद्ध निकायसँग समन्वय गरी सो क्षेत्रलाई स्क्रीनिङ फ्री गरी यात्रुहरूलाई सहजता प्रदान गर्न निर्देशन दिएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए । यस्तै, विमानस्थलमा सञ्चालन भइरहेका ट्याक्सीहरूको हालको गुणस्तरको मूल्यांकन गरी ट्याक्सीहरूको गुणस्तर, मापदण्ड, भाडादर आदि विषयमा १ महीनाभित्र प्रतिवेदन पेश गर्न विमानस्थल कार्यालयलाई निर्देशन दिइएको छ ।

सरोकारवालासँग भएको छलफलमा मन्त्री भट्टराईले विमानस्थललाई बुटिक एयरपोर्टको रूपमा विकास गर्न, कार्ययोजना बमोजिम काम गर्न, यात्रुहरूको सेवासुविधा प्रवाहलाई समयानुकूल परिमार्जन गरी गुणस्तर अभिवृद्धि गर्ने कार्यमा विशेष पहल गर्न र सो कार्यमा अवरोध, ढिलासुस्ती गर्ने व्यक्ति, कम्पनी वा संस्थालाई कठोर कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)