ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेश छोडेर कृषि पेशामा युवा

Sep 16, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–११ पकुवाका ३० वर्षीय गणेश पौडेलले २०६८ सालसम्म कुखुरापालन गर्दै आएका थिए । २ हजार कुखुरा मरेपछि उनी साउदी पुगे । त्यहाँ उनले विमानस्थलमा मजदूरी काम गर्न थाले । दुई वर्ष बिताएपछि उनले घरको बाँझो जमीन सम्झिए । घर फर्किएका पौडेलले ५ लाख खर्च गरेर व्यावसायिक तरकारी खेती शुरू गरे । 

‘विदेशबाट फर्केपछि ३ ओटा टनेल बनाएर तरकारी फलाउन शुरू गरेँ,’ पौडेलले भने, ‘पहिलो लटमै आकर्षक आम्दानी भयो । विदेशमा गर्ने श्रम स्वदेशमै गर्छु भनेर घर फर्किएको तरकारीमा राम्रो भएपछि यसैमा रमाउन थालेको छु ।’ गत आर्थिक वर्ष २०७५/७६ मा ‘मोडल फर्म’ मा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रममा पौडेलले आवेदन दर्ता गरे । सरकारले उनलाई रू. ५ लाख अनुदान दियो । त्यसपछि उनले आफूले शुरू गरेको खेतीलाई १५ रोपनी जग्गामा विस्तार गरे । थप ४ ओटा टनेल थपे । 

पौडेलले भने, ‘अहिले ५ ओटा टनेलमा गोलभेंडा फलाएको छु । दुईओटा टनेलमा बोडी ।’ गाउँ फर्किएर तरकारी खेती गर्न थालेपछि उनले मासिक ५० हजार कमाइ गरिरहेका छन् । कृषिमा आधुनिकीकरण, यन्त्रीकरण र व्यवसायीकरण गर्ने सरकारको लक्ष्यअनुसार शुरू गरिएको मोडल फर्ममा उनी जस्तै अधिकांश युवा सहभागी भएका छन् । यो कार्यक्रमले युवालाई कृृषि पेशामा आत्मनिर्भर हुने अवसर सृजना गरेको कृषकहरू बताउँछन् । कुश्मा नगरपालिका–११, गंगटेका दीपेन्द्र क्षेत्री पनि राम्रो काम र कमाइ हुने आशामा कतार पुगेका थिए । त्यहाँ उनी १ वर्ष जेलमा परे । त्यसपछि घर फर्किएर तरकारी खेतीमा लागे । पाँचओटा टनेलमा तरकारी फलाएर अहिले उनले गतिलो कमाइ गरेका छन् । उनले तरकारीकै कमाइबाट रू. ८० लाखको पक्की घर बनाएका छन् । यही गाउँका विश्वराज जोशी, गोविन्द पौडेल, सूर्य केसी, संगीता पौडेल र सीता क्षेत्रीलगायतले नमूना तरकारी फर्म चलाएर गतिलो आम्दानी लिँदै आएका छन् । सरकारले मोडल फर्मका लागि अनुदान दिएपछि कृषिमा आत्मनिर्भर हुने उदेश्य लिएका युवालाई थप हौसला मिलेको छ । जिल्लाको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, मोदी गाउँपालिकामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानहरू थपिँदै गएको जिल्ला कृषि ज्ञान केन्द्रले बताएको छ । ‘मोडल फर्म कार्यक्रम शुरू भएपछि किसानहरूको संख्या बढेको हो,’ कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक रामकृष्ण अर्यालले भने, ‘यही गतिमा कृषक बढ्ने हो भने पर्वतको कृषि उपज विक्रीका लागि हम्मे पर्ने देखिन्छ ।’

केन्द्रले चालू आर्थिक वर्षमा तरकारी भण्डार गर्ने कोल्ड रुम र हाटबजार बनाउने भएको छ । केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष मोडल फर्म कार्यक्रममा ३ करोड ४० लाख रुपैयाँ बजेट खर्च भएको छ भने चालू वर्ष यो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)