धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाडबाडका समयमा सुपथ मूल्य पसल सञ्चालनको योजना ल्याए पनि ढुवानीका सवारीसाधन मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नहुँदा पसल सञ्चालनमा समस्या भएको छ । सामग्री ढुवानी गर्न नसक्दा धनगढीबाहेक क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा कठिनाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।
सरकारले गत साउनदेखि ढुवानीका सवारीसाधन ट्रक आदिलाई अनिवार्य रूपमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । पाण्डेले सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित कुनै पनि ट्रक मूल्य अभिवृद्धि कर (भ्याट) मा नभएकाले सामग्री ढुवानीमा गर्न नसकिएको बताए । ‘ढुवानी हुन नसक्दा सुपथ मूल्य पसल सञ्चालन योजना नै अन्योलमा परेको छ,’ उनले भने ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा सुपथ मूल्य पसल सञ्चालनका लागि ७ करोड ९२ करोड बजेट विनियोजन गरेको छ । प्रदेशका ८८ ओटै स्थानीय तहमा यस्तो पसल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । कार्यालयले धनगढीमा एउटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसकेको छ । ‘बजारमा चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ छ भने सुपथ मूल्य पसलबाट रू ७२ मै पाउन सकिन्छ,’ पाण्डेले भने, ‘बजारमा रू. ३५ मा पाइने साबुन हाम्रोमा ३० तथा नुन रू. १८ मै पाउन सकिने गरी व्यवस्था मिलाइएको छ ।’
भ्याटकै कारण यस वर्ष कैलालीको टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा समेत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन नसकिएको कार्यालयले बताएको छ । विगतमा कार्यालयले कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो ।