काठमाडौं । नेपालले भारतसँग डे अहेड (भोलिको लागि आज किन्न वा बेच्न बुक गर्ने) र टर्म अहेड (केही दिनपछिका लागि बुक गर्ने) बजारमा विद्युत् व्यापार गर्ने भएको छ । यसका लागि भारतको सरकारी निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग सम्झौता समेत भइसकेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
सम्झौता अनुसार प्राधिकरणले विद्युत् व्यापारको स्टक मार्केटका रूपमा रहेका भारतका इन्डियन इनर्जी एक्सचेन्ज र पावर एक्सचेन्ज इन्डिया लिमिटेड नामक विद्युत् बजारबाट विद्युत् किनबेच गर्न सक्नेछ । यसका लागि एनभीभीएनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
‘भारतीय विद्युत् बजारमा हरेक १५/१५ मिनेटमा विद्युत्को नयाँ दर जारी हुने गर्छ,’ अधिकारीले भने, ‘उक्त बजारमा राति १२ बजेबाट बिजुली चाहिने वा दिने हो भने अघिल्लो दिन बिहान १० बजेभित्र बुक गरिसक्नुपर्छ ।’ अधिकारीका अनुसार नेपालले तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन शुरू हुनुअघि नै उक्त बजारमा आफ्नो प्रवेश चाहिरहेको छ । ‘त्यसो हुन सके तामाकोशी आइसकेपछि बढी हुने विद्युत् हामी सोही बजारमा विक्री गरिहाल्न सक्ने थियौैं,’ अधिकारीले भने ।
गएको डिसेम्बरमा भारतले संशोधन गरेको सीमापार विद्युत् व्यापार निर्देशिकामा छिमेकी देशहरूसँग डे अहेड र टर्म अहेड मार्केटबाट विद्युत् किनबेच गर्न सक्ने व्यवस्था राखिएको छ । यस व्यवस्थाबाट विद्युत् किन्दा तत्काल बढेको विद्युत् माग धान्न सजिलो हुनुका साथै महँगो पर्ने समयमा बढी विद्युत् उत्पादन गरी बेच्न पनि सकिन्छ ।
हालसम्म यस बजारबाट किनबेचको प्रस्ताव गर्ने नेपाल पहिलो देश रहेको प्रवक्ता अधिकारीले बताए । ‘प्रस्ताव स्वीकृत भई कार्यान्वयन भए नेपाल र भारत दुवै देशका लागि यस विधिबाट अन्तरदेशीय विद्युत् व्यापारको अनुभव प्राप्त भई बाँकी देशहरूसँगको व्यापारका लागि पनि उदाहरण हुनेछ,’ उनले भने ।
सीमापार विद्युत् व्यापार निर्देशिकाका आधारमा डे अहेड र टर्म अहेड कार्यविधि बनाएको भारतले त्यसमा नेपालको प्रतिक्रिया मागेको र नेपालले भारतको उक्त विद्युत् बजारमा आफू पनि प्रवेश गर्न चाहेको प्रतिक्रिया दिएको थियो । यसका लागि नेपालले भारतको विद्युत् बजारमा प्रवेश गर्न पठाएको प्रस्ताव स्वीकृतिका लागि दुई पक्षबीच पटक–पटकको बैठकमा छलफल भएको अधिकारीले बताए ।
केही समयअघि भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आएका बेला नेपालले उक्त बजारमा प्रवेशका लागि पठाएको प्रस्तावका बारेमा कुरा राखेको थियो । त्यसैगरी गएको बिहीवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र भारतका विद्युत् राज्यमन्त्री आरके सिंहको नेतृत्वमा काठमाडौंमा भएको बैठकमा मन्त्री पुनले उक्त प्रस्ताव पठाएको सम्बन्धमा कुरा राखेका थिए । भारतीय विद्युत् राज्यमन्त्रीले आफू दिल्ली जाने बित्तिकै प्रस्ताव स्वीकृत गर्न निर्देशन दिने वचन दिएको बैठकमा सहभागी रहेका अधिकारीले जानकारी दिए ।