काठमाडौं । दूधबाट पनीर, चीज तथा छेना बनाउने क्रममा निस्कने तरल पदार्थ (ह्वे लिक्वीड) को व्यवस्थापन हुन नसक्दा प्रतिवर्ष करीब २ अर्ब रुपैयाँ नालीमा बगिरहेको छ । यसबाट बनाउन सकिने उच्च प्रोटिनयुक्त ‘ह्वे प्रोटिन’ बजारमा प्रतिकेजी १० हजार रुपैयाँसम्ममा विक्री हुन्छ । तर, हामीकहाँ त्यसको उत्पादन कसैले गर्दैन ।
शारीरिक सुगठन (बडी बिल्डिङ) को कसरत गर्नेहरूका लागि विशेष उपयोगी मानिने ‘ह्वे प्रोटिन’, भन्सार विभागका अनुसार गत आवमा मात्र ८५ लाख रुपैयाँको आयात भयो ।
नेपालमा उत्पादित दूधको ५० प्रतिशत कृषक आफैले उपभोग गर्ने, ३३ प्रतिशत निजी स्तरका मिठाइ पसल तथा होटलहरूमा जाने र बाँकी १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रबाट किनबेच हुने गर्छ । दुग्ध विकास संस्थान (डीडीसी) को पछिल्लो तथ्यांक अनुसार वार्षिक करीब २२ लाख मेट्रिक टन अर्थात् २ अर्ब २० करोड लिटर दूध उत्पादन हुन्छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा आउँदा वार्षिक ३७ करोड ४० लाख लिटरको हाराहारीमा दूध सरकारी तथा निजी दुग्ध उत्पादक कम्पनीहरूमा पुग्छ ।
संकलित दूधको करीब ८ प्रतिशत पनीर, चीज तथा छेना बनाउन प्रयोग हुने डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् । यस हिसाबले औपचारिक क्षेत्रबाट मात्रै दैनिक ३ करोड लिटर दूध यस प्रकारका उत्पादनका लागि प्रयोग हुन्छ । राजभण्डारीका अनुसार दूधबाट पनीर, चीज, छेना जस्ता पदार्थ करीब १५ प्रतिशत र पानी अर्थात् ह्वे लिक्विड करीब ८५ प्रतिशत निस्किन्छ ।
यस हिसाबले प्रतिवर्ष २ करोड ५५ लाख लिटर ह्वे लिक्विड विना कुनै उपयोग नालीमा बगाइन्छ । भारतको ‘ह्वे प्रोटिन’ निर्माता ‘न्यूट्रिसत्व पूmड्स प्रालि’ का अनुसार एक केजी ‘≈वे प्रोटिन’ उत्पादन गर्न १२० लिटर ह्वे लिक्विड आवश्यक पर्छ ।
यसरी नेपालले वार्षिक २ लाख १२ हजार केजी ‘ह्वे प्रोटिन’ उत्पादन गर्न सक्छ । प्रचलित बजार मूल्य प्रतिकेजी १० हजार रुपैयाँले हिसाब गर्दा यसबाट नेपालले प्रतिवर्ष २ अर्ब १२ करोड रुपैयाँ आम्दानी गर्न सक्ने देखिन्छ ।
नेपालमा ‘ह्वे’बाट उत्पादन गर्न सकिने खाद्य पदार्थका सम्बन्धमा खाद्य तथा डेरी विषयमा अध्ययन गर्नेहरूले शैक्षिक तथा अन्य प्रयोजनका लागि अनुसन्धान गर्ने गरेका छन् । तर, यसको उत्पादन नै बाहिर ल्याउने गरी अध्ययन अनुसन्धान नभएको डीडीसीका ‘क्वालिटी कन्ट्रोल चीफ’ गोविन्दराज जोशी बताउँछन् ।
‘ह्वे–पाइनापल जुस’बारे स्नातकोत्तरको शोधपत्र लेखेकी राष्ट्रिय दुग्ध विकास बोर्डकी प्राविधिक निर्देशक डा. हसना मैयाँ श्रेष्ठ यसको प्रवर्द्धनमा आवश्यक सहयोग पाए विभिन्न फलफूलसँगको मिश्रणमा ‘ह्वे–जुस’ समेत उत्पादन गर्न सकिने बताउँछिन् ।
किन फालिन्छ खेर ?
दुग्ध उद्योगहरू छरिएर रहेका हुँदा ह्वेको संकलन तथा प्रशोधन चुनौतीपूर्ण रहेको डेरी उद्योग संघका अध्यक्ष राजभण्डारी बताउँछन् । ‘ह्वेमा दूधको तरल फर्ममा पाइने सम्पूर्ण पोषण पाइने भए पनि यसका सम्बन्धमा आम मानिसमा जानकारी छैन,’ राजभण्डारी भन्छन्, ‘त्यसैले बजारमा माग नभएकाले उत्पादनमा पनि चासो नपुगेको हो ।’ नालीमा बगाइने ह्वेमा कीटाणुहरू चाँडै उत्पन्न हुने हुँदा प्रदूषण फैलिने विज्ञहरू बताउँछन् । त्यसैले यसको खपतको कुनै न कुनै उपाय अवलम्बन गर्नुपर्नेमा उनीहरूको जोड छ ।
चीज उद्योगहरूबाट दैनिक करीब ६० हजार लिटर ह्वे उत्पादन हुने इलाम जिल्लामा पछिल्लो समय ह्वे बंगुरको आहारा हुन थालेको छ । ‘बंगुर किसानले चीज उद्योगबाट प्रति बाल्टी १० रुपैयाँका दरले ह्वे किनेर खुवाउन थालेका छन्,’ राजभण्डारीले भने, ‘यसबाट बंगुरलाई पर्याप्त पोषण पुगेर किसानले राम्रो मुनाफा लिइरहेका छन् ।’