ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रामीण विकासमा रहेको आफ्नो संस्थापक शेयर विक्री गर्दै राष्ट्र बैंक, २ लाख ९९ हजार ९८२ कित्ता लिलाममा

Sep 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

भदौ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो स्वामित्वको संस्थापक शेयर विक्री गर्ने भएको छ । राष्ट्र बैंकले मंगलवार एक सूचना जारी गर्दै ग्रामीण विकासमा रहेको २ लाख ९९ हजार ९८२ कित्ता संस्थापक शेयर लिलाम बढाबढबाट विक्री गर्न लागेको जानकारी गराएको हो । उक्त शेयर किन्न इच्छुकले कात्तिक ४ गतेसम्म आवेदन पेश गर्न सक्ने छन् ।

राष्ट्र बैंकको स्वामित्वमा रहेको उक्त कित्ता बराबरको शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई प्रतिशेयर रू. १०० अंकित दरको हिसाबले लिलाम बढाबढको माध्यमद्वारा विक्री गर्न सूचना जारी गरेको वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदिपराज पौड्यालले जानकारी दिए । ‘सो संस्थाका इच्छुक संस्थापक शेयरधनीले राष्ट्र बैंकमा प्रतिकित्ता के कति दररेटमा खरीद गर्न कबुल गर्ने हो, खुलाएर पठाउनु पर्ने छ । तोकिएको शर्तहरुको अधीनमा रही इच्छुक शेयरधनीले गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने छ,’ उनले भने ।

शेयर खरीदको लागि आवेदन गर्दा अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा यस बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्ने सूचनामा उल्लेख छ । एक प्रस्तावकले एकभन्दा बढी बोलपत्र पेश गरेको अवस्थामा पहिलो प्रस्तावलाई मान्यता दिइने राष्ट्र बैंकले बताएको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १२५।– (अक्षरेपी एक सय पच्चीस मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने भनिएको छ । सबैभन्दा बढी दर रेटमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई शेयर विक्री गरिने विभागले बताएको छ । ‘यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दर रेटमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई विक्री गरिनेछ,’ कार्यकारी निर्देशक पौड्यालले भने । बोलकबोल शेयर विक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुईभन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँट गरिने उनले बताए ।

इच्छुक खरीदकर्ताले नागरिकताको प्रतिलिपि, कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।

आवेदन फारम केन्द्रिय बैंकको बैंकिङ कार्यालय, बालुवाटारमा ना.नो.आ.ही.फुटकर आम्दानी शीर्षक (११०००००/०३०–०१२–५२४) मा रू. ५०० (फिर्ता नहुने गरी) जम्मा गरेको भौचर पेश गरी यस बैंकको वित्त व्यवस्थापन विभागबाट प्राप्त गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)