ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ जहाज निगमलाई घाँडो

दुई जहाज बेच्न संसदीय समितिको निर्देशन 

Sep 18, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ ओटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेका छन् । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् । 

अहिले निगमसँग ५६ सीट क्षमताका दुईओटा एमए–६० र १७ सीट क्षमताका चारओटा वाई–१२ ई गरी ६ ओटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एकओटा र २०७४ मा चारओटा गरी ६ ओटा चिनियाँ जहाज ल्याएको थियो । चीन सरकारको ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत दरको ऋणमा उक्त जहाजहरू ल्याइएको हो । निगमले तीनओटा वाई–१२ र एउटा एमए–६० जहाज सहुलियत ब्याजदरमा खरीद गरेको थियो भने एउटा एमए–६० र एउटा वाई–१२ अनुदानमा पाएको हो ।

पहाडी क्षेत्रमा छोटो उडान तथा अवतरण (स्टल रूट) का विमानस्थलमा उडाउन उपयुक्त भनेर ती जहाज भित्र्याइएको थियो । निगमसँग भएका चार वाई–१२ ई मध्ये तीनओटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपुर्जाको अभावमा दुईओटाले मात्रै नियमित उडान गरेका छन् । एउटा वाई–१२ ई भने करीब ७ महीनादेखि ग्राउन्डेड छ । यस्तै दुईओटा एमए–६० मा एउटा मात्रै उडानयोग्य छ । 

यसैबीच प्र्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिले नियमित उडान गर्न नसक्ने दुई चिनियाँ एमए–६० जहाज बेच्न सरकारलाई निर्देशन दिएको छ । उपसमिलेले हालै समितिलाई बुझाएको ‘नेपाल वायुसेवा निगमको जहाज खरीद सम्बन्धी प्रतिवेदन–२०७६’ मा ५८ सीट क्षमताका मोडर्न आर्क (एमए) ६० नामका दुई जहाज विक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिइएको छ । 

निगमले आव २०७३/७४ मा चिनियाँ जहाजबाट १९ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो भने यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको थियो । यस प्रकार निगमलाई चिनियाँ जहाज उडाउँदा वार्षिक ३३ करोड ९६ लाख रुपैयाँ घाटा भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । यस्तै आव २०७४/७५ मा पनि चिनियाँ जहाज उडानबाट २३ करोड १५ लाख रुपैयाँ आम्दानी र ८० करोड ७७ लाख रुपैयाँ खर्च भएको छ, जसबाट निगमलाई ५७ करोड ६१ लाख रुपैयाँ घाटा भएको छ ।

निगमको वार्षिकोत्सवका अवसरमा निगमकै उच्च कर्मचारीहरूले समेत निगमका लागि चिनियाँ जहाज घाँडो बनेको भन्दै जहाज बेच्नुपर्ने वा नेपाली सेनालाई दिनुपर्ने बताएका थिए । त्यसको प्र्रतिवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सेना कुनै कवाडखाना नभएको र निगमका जहाज सेनालाई दिनुपर्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो भन्नुभएको थियो । 

उपसमितिले सरकारलाई निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्ने भन्दै १८ सीट क्षमताका चारओटा वाई–१२ ई जहाजका सम्बन्धमा कूटनीतिक प्रयासबाट समस्याको समाधान खोज्न निर्देशन दिएको छ । 

चिनियाँ जहाज सञ्चालनका लागि चिनियाँ पक्षले पनि आवश्यक सहयोग गरेको छैन । चीनसँग अंगे्रजी भाषा जानेका पाइलट पठाउने, नेपाली पाइलटलाई प्रशिक्षण दिने, विमानका लागि आवश्यक पार्टपुर्जा समयमा उपलब्ध गराउने भन्ने सम्झौता भए पनि चीनले सम्झौता अनुरूप सहयोग नगरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । उनले पार्टपुर्जाको अभावमा एमए–६० को एउटा जहाजको पार्टपुर्जा झिकेर अर्कोमा राखेर उडान हुँदै आएको जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)