ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ करोड लगानीमा आधुनिक कृषिफार्म, ‘टिम्बाली’ र ‘अमुल’ मोडल अवलम्बन

Sep 18, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा हरियाली ग्रूपले आधुनिक कृषिफार्म सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, कृषि वैज्ञानिकहरू टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापा लगायतको रू. ६ करोड लगानीमा गत माघदेखि कृषिफार्म सञ्चालन गरिएको हो । जग्गा चक्लाबन्दी गरेर उक्त समूहले व्यावसायिक तरकारीखेतीका साथै माछा, कुखुरा तथा मौरीपालन शुरू गरेको छ ।

समूहले कृषिको आधुनिकीकरण, व्यावसायिकता विकास, रोजगारी सृजना र उत्पादन तथा कृषकको आम्दानी बढाउने उद्देश्य राखेको छ । यो म्याग्दीकै हालसम्मको ठूलो कृषि परियोजना भएको फार्म सञ्चालक समितिका सदस्य दुर्गाबहादुर थापाले दाबी बताए । 

फार्म सञ्चालनका लागि विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाली सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘अमुल’ मोडल अवलम्बन गरिएको थापाले जानकारी दिए । ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या समाधान गर्न, उत्पादन बढाउन र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागेका छौं,’ उनले भने ।

समूहले ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरेको प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए । फार्ममा निकट भविष्यमै बोयर जातका बाख्रा र कालिजपालनका लागि तयारी भइरहेको उनले जानकारी दिए ।

कम्पनीले सञ्चालन गरेको कृषिफार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । आफूहरूले जग्गाको भाडासँगै रोजगारी पाएको जग्गाधनी भगवान खड्काले बताए । ‘बजार नजीक, सडक सुविधा र अनुकूल हावापानी भए पनि खण्डीकृत जमीन, थोरै उत्पादन, बजारको समस्या र सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो,’ उनले भने ‘समूहगत खेती शुरू भएपछि अवस्था फेरिएको छ ।’

कृषिफार्ममा म्याग्दी खोलाबाट लिफ्टिङ गरी पानी ल्याइएको छ । यसबाट सातओटा पोखरीमा रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ । मासु र अण्डाका लागि छुट्टा/छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताए । यस्तै १०० घारमा मौरी पालिएको छ भने आधुनिक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । हालसम्म ४० लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र मौरी विक्री भइसकेको प्रबन्ध निर्देशक केसीले जानकारी दिए । समूहमा नरहेका अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाइने उनले बताए ।

तरकारीखेतीमा रासायनिक मल र विषादी प्रयोग नगरिएको दाबी समूहले गरेको छ । ‘गाईवस्तुको गोबर र कम्पोस्ट मल मात्र प्रयोग गरेका छौं,’ फार्मका तरकारी फिल्ड इन्चार्ज बुद्धि सुनारले भने । उत्पादित कृषिउपज बेनी, पोखरा, मुस्ताङ र तनहुँका बजारमा निकासी हुने गरेको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)