ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ सातापछि चल्न थाल्यो नेप्सको कार्ड पोस मेशिनमा

एटीएमको समस्या एक सातामै टुंग्याउन गृहकार्य

Sep 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

असोज १, काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले नयाँ प्रणाली प्रयोग गरी आफ्नो सेवा पुनः सञ्चालन गरेको छ । ह्याकरका कारण २ सातादेखि बन्द सेवा पुनः सञ्चालन भएपछि अब नेप्सको सञ्जालमा जोडिएका १८ ओटा बैंकको कार्ड नेपाल र भारतका पोइन्ट अफ सेल्स (पोस) मेशिनमा चल्ने भएको छ । 

हाल चिपमा आधारित कार्डमात्र प्रयोग गरी पोस मेशिनमार्फत सर्वसाधारणले भुक्तानी गर्न सक्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण क्षत्रीले बताए । उनका अनुसार भिसा कार्ड प्रदायक कम्पनीसँगको छलफलमा उनीहरूले दिएको निर्देशनबमोजिम पोस मेशिनमा नयाँ प्रणाली प्रयोग गरी सञ्चालनमा ल्याइएको हो । 

नेप्सको सञ्जालमा ११ ओटा वाणिज्य बैंक र ७ ओटा विकास बैंकहरू आबद्ध छन् । यी बैंकका कार्डमार्फत पोस मेशिनमा समेत समस्या आएपछि यसलाई बन्द गरिएको थियो । अब भने नेपालभरका डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरूबाट विद्युतीय कार्ड प्रयोग गरी पोसमार्फत सर्वसाधारणले सामान वा सेवा खरीद गरी भुक्तानी गर्न सहज र सुरक्षित भएको क्षत्रीले बताए । यसैबीच, एनआईसी एशिया बैंकले समेत प्रेस विज्ञप्ति जारी गर्दै बैंकका डेबिट तथा क्रेडिट कार्डहरू पोस मेशिनमा चल्ने जानकारी दिएको छ । गत भदौ १४ गतेको ह्याकिङको घटनापछि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा चलेको छैन । यसलाई पनि अब साता दिनभित्रै समाधान गर्नेगरी गृहकार्य भइरहेको क्षत्रीले जानकारी दिए । यसका लागि भिसा कार्ड प्रदायक कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ । यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एक सूचना जारी गर्दै आप्mनो बैंकको डेबिट र क्रेडिट कार्ड नेप्स अन्तर्गतका १८ ओटा बैंकको एटीएम बुथमा प्रयोग गर्न नसकिने सूचना सार्वजनिक गरेको थियो ।  

चिनियाँ ह्याकरहरूको एक समूहले गत भदौ १४ गते नेप्सको प्रणाली बाइपास गरी करोडौं रुपैयाँ चोरी गरेकाले अल्पकालीन सुरक्षा रणनीतिका रूपमा नेप्सको नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको एटीएम कार्ड अन्य बैंकका एटीएम मेशिनमा नचल्ने बनाइएको थियो । साथै, पोस मेशिनमार्फत हुने भुक्तानीमा पनि समस्या आएको थियो । उक्त घटना भएको करीब दुई सातापछि केन्द्रीय बैंकले नेप्सलाई सिस्टम परिवर्तन गरी वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको थियो ।

३ महीनाभित्र फरेन्सिक रिपोर्ट
ह्याकिङका सन्दर्भमा अध्ययन गरिरहेको सिंगापुरको भेरीजोन कम्पनीका टोलीले करीब ३ महीनाभित्र फरेन्सिक रिपोर्ट तयार गर्ने भएका छन् । नेप्सका अनुसार आगामी मंसिरमा उक्त टोलीले रिपोर्ट तयार पार्ने गरी काम गरिरहेका छन् । भुक्तानी कार्ड सम्बन्धी अनुसन्धान गर्ने उक्त टोलीले नेपालका एटीएममा चोरीको घटना कसरी भयो, कुन बैंकको कति क्षति भयो र कसले बेहोर्नु पर्ने लगायतबारे यथार्थ विवरण दिने बताइएको छ ।
  
आईटी क्षेत्रलाई थप परिष्कृत गर्दै जानुपर्छ : गभर्नर
यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रविधिको विकाससँगै ह्याकरहरूबाट बैंकिङ क्षेत्र असुरक्षित हुँदै गएकाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई थप परिष्कृत गर्दै जानुपर्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिसँगको भेटघाटमा साइबर सुरक्षा अहिले विश्वमै चुनौती भएको उनले धारणा राखे । यस्ता ह्याकरहरूबाट जोगिन केन्द्रीय बैंकले आइटी अडिटलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको उनले जानकारी दिए । सतर्कता अपनाउन बैंकहरूलाई आईटीमा लगानी गर्न जोड दिएको उनले दोहो¥याए । साथै, उनले बैंकको संख्या घटाउने प्रसंगमा अमेरिकाको उदाहरण दिँदै भने, ‘अमेरिकाले ८ हजार बैंक तथा वित्तीय संस्थालाई झण्डै आधामा घटाउन लागेको छ । यसकारण नेपालले मर्जरबाट बैंकको संख्या घटाउँदा साइबर सुरक्षामा सहज हुन्छ । यसबाहेक बैंकहरूलाई झन् नाफा कमाउन सजिलो हुन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)