ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि अग्रिम टिकट खुला

Sep 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आज (आइतवार) देखि अग्रिम टिकट बुकिङ खोल्दै छ । भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघका अनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैं र तिहारमा करीब २५ लाख मानिस राजधानीबाट बाहिरिने गरेका छन् । सरकारले त्यसैको व्यवस्थापनका लागि प्रत्येक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ ।

यात्रुहरू नठगिऊन् भन्ने उद्देश्यले बुकिङका लागि पोशाक र परिचयपत्रसहित हरेक काउन्टरमा कर्मचारी खटाइएको छ । गत वर्ष बुकिङ खोलेको पछिल्लो दिनमै कतिपय काउन्टरले टिकट सकिएको भन्दै टिकटको कालोबजारी गरेपछि यस वर्ष पोशाक र परिचयपत्रसहितका कर्मचारी खटाइएको हो । ‘हामीले टिकटको कालोबजारी र यात्रु सहायताका लागि सबै काउन्टरमा परिचयपत्र र पोशाकसहितका कर्मचारी खटाएका छौं,’ महासंघका महासचिव सरोज सिटौलाले बताए । 

व्यवसायीले भाडा बढाउनुपर्ने माग विभागसँग राखे पनि दशैंको समयमा भाडा नबढाईकन बुकिङ खोल्ने निर्णय भएको थियो । सरकारले २०६५ फागुनमा बसमा लागेको लागत र अपेक्षित आम्दानीलाई आधार मानी वैज्ञानिक भाडादर निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार प्रत्येक आर्थिक वर्षको शुरूमा बजार मूल्य सर्वेक्षण गरी गाडीमा लाग्ने १४ ओटा पार्टस् र गाडी कर्जा, चालक/सहचालकको तलब तथा पेट्रोलको मूल्यको आधारमा भाडा समायोजन गर्ने सम्झौता भएको थियो । गत वर्ष दशैंको शुरूआतमा १० प्रतिशत भाडा बढेको भए पनि यस वर्ष महासंघले उक्त सम्झौतालाई लागू गर्दै भाडा बढाउन सरकारलाई दबाब दिइरहेको थियो ।

अघिल्ला वर्षहरूमा लामो दूरीमा चल्ने कतिपय बस बाटोमै बिग्रिएर यात्रुले सास्ती पाउने गरेकोमा यस वर्ष त्यसको व्यवस्थापन गर्न खोजिएको छ । महासंघले काठमाडौंबाट बस छुट्नुअघि बसको कन्डिसन चेक गर्ने निर्णय गरेको छ भने बाटोमा गाडी बिग्रिए पनि यात्रु सहजताका लागि सिप्रदी ट्रेडिङ प्रालिले बिग्रिएकै ठाउँमा पुगी चाँडै मर्मत गर्ने जिम्मा लिएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बाटोमा गाडी बिग्रिएर अलपत्र परे सिप्रदीले गाडी मर्मत गरिदिने जिम्मा लिएको बताए । ‘विभिन्न ठाउँमा सिप्रदीले पार्टस्सहित मेकानिक खटाएको छ,’ उनले भने, ‘बाटोमा गाडी बिग्रिए बिग्रिएको ठाउँमै पुगी छिट्टै गाडीको मर्मत गरिनेछ ।’

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु सहायता र अनुगमनको कार्यक्रम गर्ने भएको छ । महाशाखाले १४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन र बसको अनुगमन गर्ने निर्णय गरेको हो । महाशाखाले अनिवार्य लामो दूरीमा चल्ने बसमा २ चालक भए÷नभएको अनुगमन गर्ने, ४ ठाउँमा मापसे चेकिङ र कर्मचारीले टिकट बेचे नबेचेको अनुगमन गर्ने बताएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जनशक्ति बढाएर काठमाडौंबाट बस छुट्नुअघि बसको अवस्था चेकिङसहित सम्पूर्ण अनुगमन गर्ने बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)