ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट उत्पादक संघबाट चार उद्योग बाहिरिए

Sep 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघबाट चारओटा सिमेन्ट उद्योग सर्वाेत्तम, जगदम्बा, शुभश्री र मानसा सिमेन्ट बाहिरिएका छन् । संघको साधारणसभाबाट समेत निर्णय गरेका विषयहरू कार्यान्वयन नगरेको र सिमेन्टको गुणस्तरका विषयमा ठोस कदम नचालेको बताउँदै यी सिमेन्ट उद्योगका सञ्चालकहरूले संघबाट बाहिरिने निर्णय गरेका हुन् । 

असन्तुष्ट समूहले सिमेन्टका समग्र गुणस्तर मापदण्डहरू विश्वस्तरकै हुनुपर्ने निर्णयबाट संघ पछि हटेकाले आफूहरूले सिमेन्ट संघको आबद्धता त्याग्न बाध्य भएको बताएका छन् । उनीहरूका अनुसार सिमेन्टको प्रमुख कच्चा पदार्थ म्याग्नेसियम अक्साइड (एमजीओ) नेपालमा ६ प्रतिशत कायम हुनुपर्छ भन्ने संघको निर्णय थियो । तर, पछि त्यो लागू गर्न संघ पछाडि हट्यो । 

विश्वव्यापी अभ्यासमा गुणस्तरमा सुधार हुँदै आए पनि नेपालमा भने विगत ३८ वर्षदेखिकै एमजीओ तथा अन्य मापदण्डहरू कायम रहँदा नेपाली सिमेन्टको गुणस्तर र विदेश निर्यातमा प्रश्न उठ्ने असन्तुष्ट समूहको तर्क छ । नेपालको अवस्था भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ एमजीओ ६ प्रतिशत कायम गरिएकाले नेपालमा पनि त्यस्तै हुनुपर्ने संघबाट बाहिरिएका सिमेन्ट उद्यमीहरूको भनाइ छ ।

‘सिमेन्टको प्रमुख कच्चा पदार्थ म्याग्नेसियम अक्साइड (एमजीओ) नेपालमा ६ प्रतिशत कायम हुनुपर्छ भन्ने विषय संघले निर्णय गरेको थियो,’ सर्वाेत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपानेले बताए । ‘गुणस्तरको विषयलाई वर्तमान अध्यक्षज्यूले नै लत्याई दिनुभयो । हाम्रो असन्तुष्टि यही हो, गुणस्तरमा संसारमा नभएको मापदण्ड नेपालमा हुँदा प्रतिस्पर्धा गर्न समस्या हुनेछ ।’ 

यता, सिमेन्ट संघसम्बद्ध स्रोत सरकारले नै एमजीओको मान ५ प्रतिशत कायम गरेकाले संघले केही गर्न नसक्ने बताउँछ । ‘सबै खाले सिमेन्टमा एमजीओ ६ प्रतिशत हुनुपर्ने उहाँहरूको माग थियो । तर, मन्त्रिपरिषद्को गत असारको निर्णयले ओपीसी सिमेन्टमा यसको पारामिटर ५ प्रतिशत हुने निर्णय गरेकोले संघ अहिले तत्काल केही गर्न सक्ने अवस्था छैन,’ संघका एक पदाधिकारीले बताए । उनका अनुसार संघ टुक्रिएको नभई केही साधारण सदस्यहरू बाहिरिएको मात्रै हो तथा गुणस्तरको मुद्दा संघमै बसेर बहस गर्न नसकिने थिएन । 

संघका अध्यक्ष ध्रुव थापाले ती चार उद्योगले संघबाट बाहिरिने निर्णय गरेको औपचारिक जानकारी आफूले नपाएको बताए । ‘गुणस्तरको विषयमा चित्त नबुझेको हो भने त्यस विषयमा छलफल गर्न संघ तयार छ,’ उनले भने । ‘सरकारले एमजीओको मान तोकेको हो, यसमा सुधार गर्न सरकारसँग वार्ता गर्न नसकिने होइन । उहाँहरू बाहिरिनु पर्ने आवश्यकता म देख्दिनँ ।’

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोजकुमार उपाध्यायले सिमेन्टमा एमजीओ ३ देखि ४ प्रतिशत हुनुलाई ‘आइडल कम्पोजिशन’ मानिने बताउँछन् । नेपालमा ग्रेडिङका आधारमा सिमेन्टमा यसको मान तयार गरिएको उनले जानकारी दिए । एमजीओ प्राकृतिक रूपमै चुनढुंगामा हुने भएको यसलाई न्यूनीकरण गर्न कम र बढी एमजीओ भएको चुनढुंगा ५०/५० प्रतिशत मिश्रण गरेर सन्तुलन मिलाउन सकिने उनको तर्क छ ।

उपाध्यायले भने, ‘एमजीओको मात्रा कम हुँदा सिमेन्टले बन्ने संरचना बलियो हुन्छ भन्ने मान्यता छ, तर यसको मतलब बढी हुँदा बलियो हुँदैन भन्ने पक्कै होइन । उच्च तापक्रममा पोल्दा चुनढुंगामा भएको एमजीओ मृतसरह हुन्छ । तर, त्यो सिमेन्टमा एमजीओ रहिरहन्छ । सिमेन्टमा बालुवा, गिट्टी, पानी हालिन्छ र मिश्रण हुन्छ । एमजीओको कारणले तत्काल कुनै प्रभाव नदेखिए पनि पानीसँग घुलनशील हुँदै जाँदा कालन्तरमा (१०/२० वर्ष) संरचनामा केही फैलावट हुनसक्ने सम्भावना भने हुन्छ ।’ एमजीओले गर्दा संरचनामा प्रभाव पार्ने हुँदा त्यसलाई न्यूनीकरण गर्न अटोक्लेभ प्रविधिबाट परीक्षण गर्ने प्रावधान विभागले राखेको छ । 

हाल नेपालमा ओपीसी सिमेन्टमा तीनओटा ग्रेड छन् । ‘नेपाल गुणस्तर ४९’ अनुसार ४३ र ५३ ग्रेडको सिमेन्टमा अहिले ५ एमजीओ मापदण्ड रहेको छ भने ३३ ग्रेडको सिमेन्टमा भने ६ प्रतिशत एमजीओ हुनुपर्ने मापदण्ड विभागको रहेको छ । यसका अतिरिक्त पीपीसी सिमेन्टमा ६ र पीएससी सिमेन्टमा ८ प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ । भारत र चीनमा एमजीओ ६ प्रतिशत हुनुपर्ने मापदण्ड छ । श्रीलंका र यूरोपेली देशमा एमजीओ नै नभएको न्यौपानेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)