ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकालीमा पक्की पुल निर्माण तीव्र, भारतका औद्योगिक क्षेत्र जोडिँदै

भारतका औद्योगिक क्षेत्र जोडिँदै

Sep 23, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा पक्की पुल निर्माणले गति लिएको छ । हालसम्म पुल निर्माणको ४५ प्रतिशत सम्पन्न भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले बताएको छ । पुलको ३० मुख्य पिलरमध्ये १२ ओटाको निर्माण कार्य करीब सकिएको कार्यालयका इन्जिनीयर सुलभ न्यौपानेले जानकारी दिए । गड्डाचौकी र भुजेला खोलाका बन्ने पहुँच मार्गका दुई पुल पनि निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । 

चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि भारतका मुख्य औद्योगिक क्षेत्रसँग सुदूरपश्चिम प्रदेशको सीधा सम्बन्ध जोडिनेछ । हाल कञ्चनपुरका उद्योगी व्यवसायीले घुमाउरो बाटो प्रयोग गरी भारतीय सामग्री वीरगन्ज, विराटनगर भन्सार हुँदै महेन्द्रनगरसम्म ल्याउने गरेका छन् । यसले सामग्रीको ढुवानीमा समय र खर्च बढी लाग्ने गरेको गुनासो यहाँका उद्योगी व्यवसायीले गर्दै आएका छन् ।

चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरू धमाधम निर्माण भइरहेका छन् । मुआब्जा विवादका कारण केही समय पहुँच मार्ग निर्माणमा अवरोध आएको थियो । विवाद टुंगिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र पारेको छ । यद्यपि नदीमा समय समयमा पानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको इञ्जिनीयर न्यौपानेले बताए । ८ सय मिटर लम्बाइको उक्त पुलको लागत ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

महाकाली नदीमा चार लेनको पक्की पुल र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणले पूर्णता पाए यो क्षेत्रको औद्योगिक विकास ठूलो टेवा पुग्ने व्यवसायीको अपेक्षा छ । पुल निर्माणले गति लिइरहेका बेला सुक्खा बन्दरगाह निर्माण भने मुआब्जा विवादले अन्योलमा परेको नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले बताए । यहाँबाट भारत उत्तराखण्डका ठूला औद्योगिक क्षेत्र नजिक भएकाले पनि ती क्षेत्रसँग सुदूरपश्चिमको सीधा सम्बन्ध जोड्न र औद्योगिक विकास गर्न पुल र सुक्खा बन्दरगाह निर्माण अपरिहार्य भएको निजीक्षेत्रको ठम्याइ छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रूपमा हेरिएको बताए । ‘पुल निर्माणपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य मात्र बढ्ने छैन, ती क्षेत्रहरूसँग सुदूरपश्चिम जोडिनेछ,’ उनले भने, ‘व्यापारिक नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुन धेरै समय लाग्दैन ।’ पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेश लगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने समेत उनले बताए । उक्त पुल कुमार श्रेष्ठ निर्माण कम्पनी र चाइना फ्युल कन्स्ट्रक्शन कम्पनी (सीएफसी) मार्फत निर्माणाधीन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)