ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेतन कर्णाली आयोजनाको  डीपीआर पुसभित्र

Sep 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पुससम्ममा तयार हुने बताइएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको बहुमत शेयरमा निर्माण हुन लागेको उक्त जलविद्युत् आयोजनाको हाल डीपीआर बनाउने काम भइरहेको छ । 

हालसम्म जलविद्युत् आयोजनाहरूमा ऋण लगानी मात्र गर्दै आएको सञ्चय कोषले जलविद्युत् आयोजना निर्माणमै लगानी गर्न लागेको यो पहिलोपटक हो । यस आयोजना निर्माणका लागि कोष बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरी अगाडि बढेको छ । 

सो कम्पनीमा सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत शेयर रहनेछ । बाँकी रहेको २५ प्रतिशत शेयर सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइने कम्पनीको भनाइ छ । 
कोषका प्रशासक तुलसीप्रसाद गौतमले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको नेपाल इन्जिनीयरिङ कम्पनीले यस आयोजनाको डीपीआर बनाउने जिम्मा पाएको र पुससम्ममा डीपीआर तयार हुने बताए । 

कम्पनीले आयोजना निर्माणका लागि २०७४ जेठ ७ गते नेपाल सरकारबाट अनुमति लिइसकेको छ । कर्णाली प्रदेशको सुर्खेत र अछाम जिल्लामा निर्माण हुने यस आयोजना शुरूमा ६८८ मेगावाट क्षमताको हुने बताइएको थियो । तर, अहिले त्यसलाई घटाएर ४४२ मेगावाट बराबरको विद्युत् उत्पादन गर्ने गरी डीपीआर तयार गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले बताए । 

सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गर्ने लाभांशको ५० प्रतिशत रकम विगत ३ वर्षदेखि उक्त आयोजनाको पूँजी निर्माणका लागि छुट्टाउँदै आएको छ । हालसम्म यस्तो पूँजी रू. ४ अर्ब ४० करोड पुगेको छ । कोषका अनुसार यस आयोजनामा सञ्चयकर्ताको ८ अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ, जसअनुसार सञ्चयकर्ताको मुनाफाबाट कोषले अभैm रू. ४ अर्ब रकम छुट्टाउनुपर्ने देखिन्छ । कोषका प्रशासक गौतमले बाँकी रकम ३ वर्षभित्र जम्मा हुने बताए ।

साथै, उक्त रकम आयोजनामा लगानी नभएसम्म सञ्चयकर्ताले त्यसको ब्याज पनि पाउने उनको भनाइ छ ।  

यस आयोजनामा सबै सञ्चयकर्तालाई समेट्ने कोषको लक्ष्य छ । यद्यपि, सञ्चयकर्तालाई इच्छा नभएमा उक्त आयोजनामा लगानी गर्न नसक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठको भनाइ छ । 

हालसम्म सञ्चयकोषले विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानीमात्र गर्दै आएको थियो । कोषले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा रू. १२ अर्ब लगानी गरेको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी अन्तर्गतको रसुवागढी, सान्जेन–१, सान्जेन–२ र मध्यभोटेकोशी जलविद्युत् आयोजनामा गरी कोषले थप १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)