ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा श्रम स्वीकृति लिँदा लाग्ने बीमाशुल्क अनलाइनबाटै

Sep 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली कामदारहरूले विदेशमा नै श्रम स्वीकृति नवीकरण गर्दा बीमा बापत बुझाउनुपर्ने रकम (बीमाशुल्क) अब अनलाइन प्रणालीमार्फत बुझाउन पाउने भएका छन् । बीमा समितिले जीवन बीमा कम्पनीहरूद्वारा सञ्चालित वैदेशिक रोजगार म्यादी जीवन बीमा पुललाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको छ ।

यदि, पुलले यस्तो व्यवस्था गरेमा विदेशमा रहेका नेपाली कामदारले बीमा बापत तिर्नुपर्ने रकम अनलाइनमार्फत तिर्न सक्नेछन् । वैदेशिक रोजगार विभागले म्याद सकिएको अवस्थामा सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था यसै वर्षदेखि गरेको छ ।

तर, उनीहरूले बीमाशुल्क कसरी भुक्तानी गर्ने विषयमा भने अन्योल नै थियो । उक्त अवस्थामा कामदारहरूले आफ्नो आफन्त वा म्यानपावर कम्पनीमार्फत यहाँ बीमाशुल्क बुझाउने गरेका थिए । त्यसपछि मात्र कूटनीतिक नियोगले उनीहरूलाई श्रम स्वीकृति प्रदान गर्दथ्यो । वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा नेपाली बीमा कम्पनीमा नै म्यादी बीमा गर्नुपर्ने प्रावधान छ । 

समितिले यस विषयमा गत साउन २९ गते नै परिपत्र जारी गरेको थियो । तर, त्यसले द्विविधा उत्पन्न गरेपछि समितिले उक्त परिपत्र खारेज गर्दै नयाँ परिपत्र जारी गरेको हो । समितिका उपनिर्देशक साम्वराज लामिछानेले भने, ‘पहिलेको परिपत्रले नेपालबाट तिरिने बीमाशुल्क पनि अनलाइनबाट नै तिर्नुपर्ने भन्ने अर्थ दियो, तर हाम्रो आशय त्यस्तो थिएन । त्यसैले उक्त परिपत्र खारेज गर्दै विदेशबाट तिरिने बीमाशुल्कलाई मात्र अनलाइन प्रणालीमा ल्याउन निर्देशन दिएका हौं ।’

पहिले कामदारले आफ्नो इच्छाअनुसार कुनै पनि जीवन बीमा कम्पनीमा यस्तो बीमा गर्ने गरेका थिए । तर, त्यसले विकृति भित्र्याएपछि समितिले पुल बनाएर गत माघदेखि एकद्वार प्रणालीमा यस बीमालाई अगाडि बढाएको छ । 

हाल उक्त पुल सञ्चालनको जिम्मा नेशनल लाइफ, सूर्या लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इस्योरेन्सले पाएका छन् । यद्यपि, त्यसबाट हुने व्यवसाय तोकिएको अनुपातमा सबै जीवन बीमा कम्पनीले पाउने व्यवस्था गरिएको छ ।

युनियन लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुुमार लाल कर्णले समितिको उक्त निर्देशन सकारात्मक भएको आर्थिक अभियानसँग बताए । उनले भने, ‘कामदारले विदेशमा श्रम स्वीकृति लिने अवस्थामा हामीलाई बीमाशुल्क भुक्तानी लिन अप्ठ्यारो भइरहेको अवस्था हो । अब समितिले भने अनुसारको व्यवस्था गर्छाैं ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)