ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दु : भारतसँग पुनः छलफल गर्ने तयारी 

Sep 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दुका लागि भारतसँग पुनः छलफल गर्ने तयारी गरेको छ । यी दुई रूटका बारेमा यसअघि पटकपटक वार्ता भए पनि टुंगोमा नपुगिएकाले सरकारले भारतसँग कूटनीतिक पहल गर्ने भएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम अघि बढिरहेको सन्दर्भमा नेपालका लागि यी रूट अत्यावश्यक हुन् । यी रूटबाट हवाई दूरी छोटो हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

भारतसँग भएको पछिल्लो सहमति अनुसार गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तरराष्ट्रिय जहाजका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा यही सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, भारतको अनिच्छाका कारण यो काम अघि बढ्न सकेको छैन । खासगरी भारतले सुरक्षा चासो देखाउँदै यो रूटमा अनुमति दिन नमानेको प्राधिकरणका अधिकारीको भनाइ छ ।

सन् २०१९ को डिसेम्बरसम्ममा गौतमबुद्ध र २०२० भित्रै पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानमा लाग्ने हवाई दूरी घटाउन तथा उडान सहज र व्यवस्थित बनाउन नेपालगञ्ज र महेन्द्रनगरका प्रवेश विन्दु आवश्यक भएकाले यसबारेमा भारतसँग पुनः छलफल गरिने पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसबारेमा नेपाल–भारतबीच यसअघि पनि छलफल नभएको होइन । तर, हाम्रा विमानस्थल तयार हुनै लागेको र प्राविधिक तथा आर्थिक हिसाबले पनि नेपालका लागि यी रूट आवश्यक भएकाले छिट्टै भारतसँग छलफल गरिनेछ,’ उनले भने । 

भारतले गतवर्ष असारमा भैरहवा, जनकपुरसँगै विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशविन्दु  दिन सहमति जनाएको थियो । तर, त्यसको सुरक्षा मूल्याङ्कन (सेफ्टी एसेसमेन्ट) गर्न अरू समय लाग्ने भन्दै पश्चिमका रूटमा भने सहमति हुन सकेको थिएन ।

भैरहवा र जनकपुरबाट क्रशबोर्डर हवाई प्रवेशविन्दु  दिन भने भारत सहमत भएको थियो । भारत सहमत भएसँगै क्रशबोर्डर हवाई प्रवेशविन्दु  बनाउन नेपाल र भारतले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा संयुक्त रूपमा आवेदन दिइसकेका छन् । यो अनुमतिपछि यी दुई बिन्दुबाट नेपालमा विमान अवतरण गर्न पनि पाउने छन् । हाल यी बिन्दुबाट विमान उडान गर्न (बाहिर जान) मात्र पाउँथे ।  

प्राधिकरणका अनुसार हाल नेपालगञ्जबाट आउने जाने दुबै अनुमति छैन । त्यस्तै महेन्द्रनगर रुट हुँदै विमानहरू बाहिरिने गरेता पनि प्रवेशका लागि भने अनुमति छैन । प्राधिकरणका अधिकारीहरू पनि यो विषय प्राविधिक रूपमा छलफल भइसकेको विषय भएकोले कुटनीटिक पहल नै आवश्यक भएको बताउँछन् । पश्चिमका दुई रुट राष्ट्रिय आवश्यकताको विषय भएकोले सरकारले छिट्टै कुटनीतिक पहल गर्ने मन्त्री भट्टराईले बताए । 

पूर्व—पश्चिम दुवैतर्फबाट आउने विमानहरू हालसम्म सिमराबाट मात्र नेपालमा प्रवेश गर्न पाउँछन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेशविन्दु छोटो पर्छ । तर अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । 

यस्तै पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ । त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रुट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने प्राधिकरणका अधिकारीको धारणा छ । प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशविन्दुबाट विमानहरू नयाँ दिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १६९ र पोखराका लागि १६५ नटिकल माइल दूरी कम हुने प्राधिकरणका अधिकारीको धारणा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)