ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुलुकको शोधनान्तर स्थिति १२ महीनापछि बचतमा

विप्रेषण भने २ प्रतिशत मात्र वृद्धि

Sep 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मुलुकको शोधनान्तर स्थिति १२ महीनापछि बचतमा आएको छ । गत आर्थिक वर्षभरि घाटामा रहेको शोधनान्तर स्थिति चालू आव २०७६/७७ को पहिलो महीना अर्थात् साउनमा भने रू. ६ अर्ब ५ करोडले बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक रहेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालू खाता घाटामा पनि केही सुधार आएको देखाएको छ । अघिल्लो साउनमा रू. २५ अर्ब घाटामा रहेको चालू खाता यो साउनमा रू. ९ अर्ब ३७ करोडमा सीमित छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले चालू आवको साउनमा आयात वृद्धिदरमा नियन्त्रण आउँदा र निर्यात वृद्धिदर बढेपछि शोधनान्तर स्थिति बचतमा आएको बताए । साथै, सरकारले उच्च मात्रामा वैदेशिक ऋण लिँदा पनि शोधनान्तर स्थिति बचतमा आएको उनको भनाइ छ । उनले भने, ‘२०७५ साउनमा सरकारले रू. २ अर्ब ९ करोड मात्र वैदेशिक ऋण लिएको थियो । तर, अहिले रू. १२ अर्ब ३४ करोड वैदेशिक ऋण लिएको छ, त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको हो ।’

त्यस्तै, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढेकाले शोधनान्तर स्थिति बचतमा आएको उनको भनाइ छ । उनले भने, ‘यद्यपि, शोधनान्तर स्थितिलाई नाफामा राखिराख्न चुनौतीपूर्ण नै छ । तर, आयातलाई नियन्त्रण र निर्यातलाई  बढाउन सक्यौं भने शोधनान्तर स्थिति घाटामा जाँदैन ।’ तथ्यांकअनुसार यस आवको पहिलो महीना रू. १ अर्ब ४४ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । तर, विदेशी
मुद्राको सञ्चिति भने घटेको छ । २०७५ साउनमा रू. १० खर्ब ६४ अर्ब ६४ करोड सञ्चितिमा रहेको विदेशी मुद्रा अहिले भने रू. १० खर्ब ३८ अर्ब ९२ करोडमा खुम्चिएको छ ।

उक्त विदेशी विनिमयले १० दशमलव २ महीनाको वस्तु आयात र ८ दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले बताएको छ । चालू आवको बजेटले भने ७ महीनाको वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी विनिमय सञ्चित गरिने लक्ष्य लिएको छ । 

७५ अर्ब विप्रेषण  
साउन महीनामा विदेशबाट रू. ७५ अर्ब ४० करोड विप्रेषण नेपाल भित्रिएको छ । यो गत आवको समीक्षा अवधिको भन्दा २ प्रतिशतले मात्र बढी हो । गत आवको साउनमा रू. ७३ अर्ब ९५ करोड विप्रेषण नेपाल भित्रिएको थियो । 

उपभोक्ता मुद्रास्फीतिको अवस्था 
समीक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो । साउनमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९ दशमलव शून्य २ प्रतिशत र गैरखाद्य वस्तुको मुद्रास्फीति ६ दशमलव १२ प्रतिशत रहेको छ ।

खुम्चियो व्यापारघाटा
समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा १३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । गत आवको समीक्षा अवधिमा रू. १ खर्ब १३ अर्ब ६९ करोडले घाटामा रहेको वैदेशिक व्यापारघाटा अहिले रू. ९७ अर्ब ८९ करोडमा छ ।

यस अवधिमा नेपालबाट रू. ८ अर्ब ८४ करोड बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको तुलनामा २७ दशमलव ७ प्रतिशतले बढी हो । गत आवमा रू. ६ अर्ब ९२ करोडको वस्तु निर्यात भएको तथ्यांकले देखाउँछ ।

साउनमा वस्तु आयात भने ११ दशमलव ५ प्रतिशतले घटेको छ । २०७५ साउनमा रू. १ खर्ब २० अर्ब ६१ करोडको वस्तु आयात भएकोमा गत साउनमा भने रू. १ खर्ब ६ अर्ब ७३ करोडको यस्तो आयात भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)