काठमाडौं । जलाशययुक्त नलसिङ गाड जलविद्युत् आयोजना (४१० मेवा) मा सहयोग गर्न जापानले इच्छा देखाएको छ । जापानले सहयोग गर्न चाहेको यो तेस्रो जलाशययुक्त आयोजना हो । यसअघि जापानले जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना (९२ मेवा)मा सहयोग गरेको तथा त्यस्तै प्रकृतिको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा सहयोगको समझदारी गरेको थियो ।
जाजरकोट जिल्लामा निर्माण हुने उक्त जलाशययुक्त आयोजनाका सम्बन्धमा छलफल गर्न जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको निमन्त्रणामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन सोमवार जापान गइसकेका छन् । जाइकाले उक्त आयोेजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माणका लागि अध्ययन गरिरहेको छ ।
जापानमा जाइकाका उपाध्यक्षसँगको भेटमा नलसिंङगाड जलविद्युत् परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल हुने तय भएको छ । नेपालको विद्युत् उत्पादनमा एक्लैले लगानी नगर्ने अभ्यास गरेको जापानले नलसिङगाडमा पीपीपी मोडलको अवधारणा अघि सारेको छ ।
जलविद्युत् आयोजनातर्फ तनहुँ जलविद्युत् आयोजनामा जाइकाले १८ करोड ४० लाख अमेरिकी डलर बेहोर्ने समझदारी भएको छ । कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरमध्ये बाँकी एशियाली विकास बैंक (एडीबी), यूरोपियन इन्भेस्टमेन्ट बैंक र नेपाल सरकारको लगानी रहने तय भएको छ ।
नेपालको जलविद्युत् क्षेत्रमा जापानको संलग्नता पुरानै हो । ३६ वर्षअघि निर्माण सम्पन्न भएको जलाशययुक्त कुलेखानी प्रथम र त्यसको क्यास्केड कुलेखानी द्वितीय जलविद्युत् आयोजनाको विकासमा विश्व बैंक, कुवेत फन्ड, ओपेक फन्ड र यूएनडीपीसँगै जापानको ‘द ओभरसिज इकोनोमिक कोअपरेशन फन्ड’ को सहयोग रहेको थियो ।
त्यसपछि जापान सरकार एक्लैले कोशी बेसिन अध्ययन गुरुयोजना २०४२ सालमा तयार पारेको हो । सोही क्रममा पहिचान भएको दूधकोशी जलाशययुक्त आयोजनाको विस्तृत इन्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काममा पनि जापानको संलग्नता रहेको छ ।
उक्त कार्य इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए इन एशोसिएशन विथ न्युजेक नामक कम्पनीले अघि बढाएको हो ।
काठमाडौं उपत्यकाको विद्युत् प्रणाली स्थापित गर्नमा जापानको महत्त्वपूर्ण भूमिका रहेको छ । जापानले २०३७ देखि २०३९ सालको बीचमा सञ्चालित ‘काठमाडौं उपत्यका विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवम् विकास परियोजना’ मा सहयोग गरेको थियो ।
निजीक्षेत्रले विकास गरेका जलविद्युत् आयोजनामा हालसम्म जापानी लगानी रहेको छैन । सरकारले अघि बढाउने आयोजनामा सहयोग गर्दै आएको भए पनि निजीक्षेत्रमा हालसम्म जापानको सरकार वा निजीक्षेत्रबाट सहकार्य नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् ।
नेपालको विद्युत् प्रणाली व्यवस्थापन गर्न जलाशययुक्त आयोजनाको खाँचो रहेका बेला नलसिङगाडमा जाइकाले देखाएको इच्छा स्वागतयोग्य रहेको ऊर्जाक्षेत्रका विज्ञहरू बताउँछन् ।