ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको बुल गाउँमा बिजुली

Sep 26, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा


म्याग्दी । म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ बुलका स्थानीयले गाउँमा विद्युत् सुविधा पुर्‍याएका छन् । गाउँपालिकाको सहयोगसहित उनीहरूले श्रमदान र चन्दामार्फत गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाबाट बुलमा विद्युतीकरण गरिएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युत्को बिजुली विस्तार गरिएको वडाध्यक्ष सुवेदीले बताए । बुलमा विद्युतीकरणका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानीका लागि स्थानीयले ३ लाख २० हजार रुपैयाँ बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए ।

गाउँपालिकाको अनुदानबाट ५६ थान विद्युत् पोल र साढे ७ किलोमिटर तार खरीद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि स्थानीयले श्रमदान गरेका थिए । स्थानीयले नगद संकलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई ७ लाख ५० हजार रुपैयाँ बुझाइएको थियो । मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल पुर्‍याइएको हो ।  

मल्कवाङमा ३ वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकेर खेर गएको थियो । बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । 

विद्युत् अभावमा सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट स्थानीयहरू वञ्चित थिए । विद्युत् सुविधा पुगेपछि स्थानीयको दिनचर्या सहज भएको छ । यस्तै विद्युत्बाट चल्ने कुटानी पिसानी मिल सञ्चालन समेत गरिएको छ । मिल सञ्चालनले गहुँ, मकै, कोदो पिस्न २ घण्टा हिँडेर बेशी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताइन् । ‘टीभी हेर्न, रेडियो सुन्न, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन पनि पाएका छौं,’ उनले भनिन्, ‘बालबालिकालाई उज्यालोमा बसेर पढ्न र हामीलाई घरायसी काम गर्न सहज भएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)