ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंकमा साइबर आक्रमण : कर्मचारीको पासवर्ड ह्याक गरी रू. ४.७३ करोड चोरी

Sep 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले नेपालका बैंकको एटीएम ह्याक गरी करोडौं रकम चोरी गरेको १ महीना नबित्दै फेरि नेपाली बैंकहरू ह्याकरको निशानामा परेका छन् । 

कृषि विकास बैंकको लहान शाखाका कर्मचारीको यूजर नेम र पासवर्ड ह्याक गरी ह्याकरको एक समूहले सो बैंकबाट रू. ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गरेको हो । कृषि विकास बैंकका अतिरिक्त पानस रेमिट, कैलाश विकास बैंक लगायतको ‘क्रेडेन्सियल ह्याकिङ’ गरी रकम निकालिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट १२ जना पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ह्याकिङका मुख्य नाइके भने फरार भएको र खोजी कार्य भइरहेको छ । 

नेपाल प्रहरीका अनुसार भारतकोे मुम्बईमा बसी विदेशी नागरिक काले भन्ने पिटरले नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको र त्यसका लागि नेपाली नागरिकलाई प्रयोग गरिएको पाइएको छ ।

ह्याकरले पानस रेमिट नयाँ बानेश्वरबाट समेत १२ लाख रुपैयाँ चोरी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ । असोज ५ गते पानस रेमिटबाट रकम झिक्ने क्रममा ≈याकिङमा संलग्न अपराधीलाई पक्राउ गर्न शुरू गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । त्यस्तै, सो समूहका केहीलाई चेक काटी बैंकबाट सटही गर्ने क्रममा समेत पक्राउ गरिएको थियो । 

नेपाल प्रहरीका अनुसार नयाँ बानेश्वरस्थित पानस रेमिटको सिस्टमले शंकास्पद कारोबार देखाएपछि यस प्रकरणको अनुसन्धान शुरू भएको थियो । सो रेमिटकी एक कर्मचारीको नामबाट अस्वाभाविक रूपमा रू. १२ लाख आएको पाइएपछि रेमिटले प्रहरीलाई सम्पर्क गरेको थियो । सो रकम एकै दिन निकाल्न थालिएपछि प्रहरीले रकम निकाल्नेहरूलाई निगरानीमा राखेको थियो । सोही क्रममा लवाङ तामाङ पक्राउ परेको र ऊमार्फत कृषि विकास बैंकबाट ह्याक गरी पैसा निकालिएको तथ्य थाहा भएको प्रहरीले बताएको छ । 

पक्राउ गरिएकाबाट प्रहरीले रू. ४० लाख ५० हजार बरामद गरेको छ । प्रहरीले उक्त अपराधमा संलग्न ७ जनालाई असोज ५ गते र बाँकी ५ जनालाई फरकफरक मिति र ठाउँबाट पक्राउ गरेको बताएको छ । यस प्रकरणमा संलग्न १२ जनामध्ये अधिकांशले केही दिनअघि मात्र विभिन्न बैंकको चालू खाता खोलेको प्रहरीको भनाइ छ । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार कृषि विकास बैंकको सिस्टम ≈याक गरी नेपाली नागरिकको विभिन्न बैंकमा रहेको खातामा रकम ट्रान्सफर गरिएको थियो । यो ह्याक प्रकरणमा कृषि विकास बैंकका कर्मचारीको संलग्नता छ वा छैन भन्ने अभैm खुलेको छैन । प्रहरीले यसको थप अनुसन्धान भइरहेको बताएको छ । 
 
एक्कासि धेरै रकम ट्रान्सफर भएपछि बैंकको कम्प्लायन्सले यस्ता खातालाई शंकाको घेरामा राखेर खाता ब्लक गरिदिएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेल बताउँछन् । यो ह्याकिङबाट निक्षेपकर्ताको खातामा असर नपरेको उनले बताए । तर, बैंकको आयव्यय विवरणमा रहेको नाफा रकम ह्याक गरेर अनियमितता गरिएको हो ।

‘बचतकर्ताको खाता सुरक्षित छ । ह्याकरले करोड रुपैयाँ विभिन्न बैंकका आफ्ना खाताहरूमा सारेको देखियो । यस्ता शंकास्पद खातालाई निष्क्रिय बनाइसकेकाले सबै रकम बाहिरिन पाएन,’ उनले भने । 

पक्राउ पर्नेमा भक्तपुरकी सुनीता श्रेष्ठ, रसुवाकी लक्ष्मी लामा तामाङ, भारत कोलकाताका शुबन्कर पन्जा र निर्मला तामाङ रहेका छन् । यसैगरी, नुवाकोटका लवाङ तामाङ, काठमाडौंका सञ्जय घले, रसुवाका निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहँुका श्रवणकुमार श्रेष्ठ, कैलालीका विजय साह, कैलालीकै चन्द्रबहादुर बुढा पनि पक्राउ परेका छन् । त्यसमध्ये महानगरीय अपराध महाशाखाले बुधवार ४ जनालाई मात्र सार्वजनिक गरेको थियो । बाँकी अपराधी भने अदालतको बयानको क्रममा रहेको बताइएको छ ।  

ह्याकिङको मुख्य नाइके मानिएको काले भन्ने पिटरले नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट रू. ५ अर्बभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रहरीको अनुसन्धानको क्रममा पत्ता लागेको छ । प्रहरीका अनुसार उक्त ह्याकरले लामो समयदेखि भारतको मुम्बईमा बसेर नेपाली नागरिकसँग सम्पर्क गर्ने, भारतमै बोलाएर मिटिङ गर्ने र कमिशनको डिल गर्ने गरेको रहेछ । ह्याक गरेको रकम नेपाली नागरिकको नाममा निकाली उनीहरूलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरेको र बाँकी रकम हुन्डीमार्फत पुनः भारत पठाउने गरेको एसएसपी थापाले जानकारी दिए । 

पछिल्लो समय बैंकिङ प्रविधि प्रणालीमाथि हमलाका घटना बढ्दै गएकाले साइबर सुरक्षामा चुनौती देखिएको छ । विश्वव्यापी रूपमा परिष्कृत हुँदै आएका सुरक्षित हार्डवेयर, सफ्टवेयर लगायत सूचना प्रविधिमा बैंकहरूको लगानी बढाउन नेपाल राष्ट्र बैंकले सुझाव दिँदै आएको छ । तर, यस्तोमा लगानी गर्दा सुरक्षित प्रविधिमा मात्र गर्नुपर्ने पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । बैंकले प्रयोग गर्ने सूचना प्रविधिसम्बन्धी उपकरण, हार्डवेयर तथा सफ्टवेयर निर्माणकर्तासँग प्रत्यक्ष किन्नुपर्ने उनको सुझाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)