ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुलेन साना सवारीको टिकट बुकिङ 

गाडीको अभाव हुन दिदैनौं : महासंघ

Sep 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं


काठमाडौं । सरकारले सबै सार्वजनिक यातायातलाई दशैंका लागि टिकट बुकिङ खोल्न निर्देशन दिए पनि साना सवारी यातायात व्यवसायीले टिकट बुकिङ खोलेका छैनन् । बल्खु, चाबहिल, कोटेश्वर, कलंकी र गोंगबु लगायत स्थानबाट चल्ने टाटा सुमो, हाइस, बोलेरो, माइक्रो जस्ता साना सवारीले बुकिङ नखोलेका हुन् । 

राष्ट्रिय यातायात व्यवसायी महासंघसँग छलफल गरी यातायात व्यवस्था विभागले असोज ५ गतेदेखि टिकट बुकिङ खोलेको हो । महासंघअन्तर्गत रहेका १५० यातायात कम्पनीले टिकट बुकिङ खोले पनि मध्यपूर्वी नेपालमा चल्ने साना सवारी कसैको मातहतमा नहुँदा बुकिङ खुल्न नसकेको हो । कसैको मातहतमा नरहेका र व्यक्तिले चलाइरहेका भएर साना सार्वजनिक सवारीको बुकिङ खोल्न नसकिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए ।

‘जनगुनासो आएपछि हामीले पनि अनुगमन गर्‍यौं साना सवारीले बुकिङ खोलेका छैनन्,’ उनले भने, ‘व्यक्तिले चलाइरहेकाले हामीले आग्रह मात्र गर्न सक्छौं ।’ बुकिङ खोल्न व्यवसायीलाई आग्रह गरे पनि व्यवसायीले बुकिङ नखोलेको उनले बताए । साना सार्वजनिक सवारीले गतवर्ष पनि अष्टमीको दिनमा मात्रै टिकट बुकिङ खोलेका थिए । गतवर्ष साना सवारीको समिति भएकाले टिकट बुकिङ खोल्न निर्देशन दिए पनि यस वर्ष बुकिङ खुलाउन खोज्दा पनि नसकिएको उनले बताए । विभागले बिहीवार साना सवारी व्यवसायीसँग छलफल गरेको थियो । आइतवार पनि बुकिङ खोल्ने विषयमा व्यवसायीसँग छलफल हुने भएकाले बुकिङ खोल्ने तयारी गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘व्यवसायीसँग छलफल गरी हामी बुकिङ खोल्ने तयारी गर्दै छौं,’ उनले भने ।

साना सवारी व्यवसायीले बुकिङ नखोली तेब्बर भाडा उठाएर यात्रु ठगिरहेका यातायात अभियन्ता राम थापाले बताए । ‘यात्रुले टिकट बुकिङ गर्न खोज्दा काउन्टरले टिकट दिँदैन,’ उनले भने, ‘कालोबजारी गरी तीन गुणासम्म बढी भाडा लिएर टिकट विक्री भइरहेको छ ।’ विभागले बुकिङ खोल्न निर्देशन दिनुपर्ने र निर्देशन नमान्ने सवारीको रूट पर्मिट खारेज गर्नुपर्ने उनको मत छ । 

यता राष्ट्रिय यातायात व्यवसायी महासंघले साना सवारी आफूअन्तर्गत नरहेको बताउँछ । आफूअन्तर्गत नरहेकोमा साना सवारीको विषयमा केही थाहा नभएको महासंघको ठहर छ । तर, गाडीको अभावका कारण कसैलाई पनि दशैंमा घर जान अभाव हुन नदिने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । ‘हामीसँग भएका गाडीकै व्यवस्थापनबाट हामी सबै यात्रुलाई सेवा दिन्छौं,’ उनले भने । बुकिङ खुलेको केही दिनमै टिकट नपाएको जनगुनासो बढिरहेको बेला उनले गाडीको अभाव हुन नदिने बताए । ‘हामी तोकेकै दरमा गाडीको थप व्यवस्थापन गरी सेवा दिन्छौं,’ उनले भने, ‘कालोबजारी गरी बढी भाडा लिने काउन्टर र व्यक्तिको बारेमा गुनासो गर्नुहोस् हामी कारबाही गर्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)