पर्वत । पर्वतको मोदी गाउँपालिका–२, देउपुरमा निजी जग्गामा सरकारी रकम प्रयोग गरी बनाइएको भवन अलपत्र परेको छ । तीन वर्ष अगाडि शीतभण्डार (कोल्डस्टोर) बनाउन उक्त भवन बनाइएको थियो । एकतला बनाएर छत ढलान गरिसकिएको छ । तर, भवन बनाउने योजना बजेटको अभावमा अलपत्र परेको स्थानीय गजेन्द्रबहादुर मल्लले बताए ।
उनका अनुसार निजी जग्गामा भवन बनेको उजुरी परेपछि सरकारले बजेट रोकेको हो । भवन बनेको जग्गा स्थानीय खेमबहादुर हमालको नाममा छ । तत्कालीन समयमा जग्गाधनीलाई पैसा नदिई सरकारी बजेटले धमाधम भवन निर्माण गरेपछि जग्गाधनीले मूल्य नमिलेकाले उपभोक्तालाई जग्गा नदिने अडान लिएपछि विवाद बढेको हो । जग्गा नामसारी गरिदिने मौखिक सहमति भएपछि काम शुरू गरिएको र पछि मूल्य नमिलेपछि जग्गा किन्न नसकिएको गाउँपालिकाले जानकारी दिएको छ । रू. ५० हजारमा जग्गा लिने सहमति भएको थियो ।
तत्कालीन समयमा रू. ५ करोड लागत इस्टिमेट सहित भवन निर्माण शुरू भएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भवन निर्माण पुनः थाल्ने प्रयास भइरहेको बताए । गाउँपालिकाले सार्वजनिक जग्गा खोजेर सरकारलाई बजेट पठाउन अनुरोध गर्ने तयारी गरेको उनको भनाइ छ । ‘अन्यत्रै जग्गा खोज्ने कि त्यही जग्गा खरीद गर्ने भन्ने विकल्पमा छलफल गर्नुपर्नेछ,’ उनले भने ।
मोदीको देउपुरमा मात्रै वर्षेनी ३ करोडको सुन्तला उत्पादन हुन्छ । सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री गर्नुपर्ने सुन्तला अफसिजनसम्म राख्न सके १२० रुपैयाँ प्रतिकिलोमा विक्री हुने किसानले बताएका छन् । कोल्ड स्टोर बनेमा सुन्तला, आलु र तरकारी स्टोर गर्न सकिने स्थानीय कृषक दाताराम चापागाईंको भनाइ छ । पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताउँछन् ।
‘लागत इस्टिमेट र योजना ठूलो देखिन्छ,’ उनले भने, ‘कोल्डस्टोरको भवन अलि ठूलो क्षेत्रफलमा चाहिन्छ । यो भवनले लक्ष्य पूरा हुनसक्ने देखिन्न ।’ ५ आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल स्टोर गर्न असम्भव हुने उनले बताए ।