पर्वत । दशैं शुरू भएसँगै मध्यपहाडी लोकमार्गको मर्मत सम्भार थालिएको छ । लोकमार्ग आयोजना कार्यालय, पर्वतले कास्कीको नयाँपुलदेखि बागलुङको मालढुंगासम्म २४ किलोमिटर खण्डमा सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम शुरू गरेको हो ।
पर्वत, बागलुङ लगायत जिल्लामा २ हप्तायता निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पहिरो आएर सडकमा थुप्रिएको छ भने सडकमा ठूलाठूला खाडल परेका छन् । पहिरो र खाल्डाखुल्डीले सवारीसाधान चलाउन समस्या भएपछि सडक सुधारको काम थालिएको आयोजना कार्यालयले बताएको छ ।
‘दशैंमा यात्रुको चाप धेरै हुन्छ,’ लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापामगरले भने, ‘यसैलाई दृष्टिगत गरी यथाशक्य छिटो काम सक्ने प्रयासमा छौं । उनका अनुसार खाल्डाखुल्डी भएको ठाउँमा ग्रेडर लगाएर पर्ने काम भइरहेको छ । यद्यपि दैनिक वर्षाले अपेक्षित काम गर्न नसकिएको उनको भनाइ छ । वर्षाका कारण सडकमा पहिरो झर्ने सम्भावना रहेकाले एक टोली तत्काल सडक खुलाउन परिचालन गरिएको उनले बताए ।
पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा यही लोकमार्ग हुँदै आउजाउ गर्छन् । अन्य वैकल्पिक सडक नहुँदा जोखिम भए पनि यो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । लोकमार्ग हुँदै मुस्ताङ घुमघामका लागि जानेहरू समेत बढेका छन् । मुस्ताङ जाने र दशैंमा घर फर्किनेहरू सवार १ हजार सवारीसाधन दैनिक यो सडकमा चल्ने गरेका छन् ।
सडक स्तरोन्नतिको क्रममा रहेकाले पहिरो खस्ने समस्या बढिरहेको छ । बुधवार पहिरो खस्दा आयोजनाको एक सब–ओभरसियरको ज्यान गयो । जोखिम रहेकाले दशैंका लागि विशेष ध्यान दिइएको आयोजना कार्यालयले बताएको छ ।
लोकमार्ग आयोजना कार्यालय भदौदेखि कालोपत्रको शुरू गर्ने तयारीमा थियो । तर मौसम सक्रिय भएकाले यो काम रोकिएको छ । ‘राति पानी परे पनि दिउँसो घाम लाग्ने गरेको भए कालोपत्र गर्न समस्या हुने थिएन,’ लोकमार्गका इन्जिनीयर आनन्द बरालले भने, ‘वर्षा भइरहेकाले पर्ख र हेरको अवस्थामा छौं ।’ मध्यपहाडी लोकमार्गको २४ किलोमिटर खण्ड पर्वतमा पर्छ ।