काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम सम्पन्न गर्न सरकारले आइतवार चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । निर्माण थालेको १२ महीना (१ वर्ष)मा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको सम्झौतामा निर्धारित अवधिभन्दा छिटो सके बोनस र ढिलो सके जरीवाना तिराउने व्यवस्था गरिएको छ ।
८५ करोड रुपैयाँमा प्याकेज २ अन्तर्गतको सुरुङ खण्डको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
अघिल्लो ठेकेदार इटालीको सीएमसीसँग भन्दा तीन गुणा बढी बोनस तथा जरीवाना तोकी आयोजनाको काम अघि बढाउन लागिएको हो । ‘यसअघिको कम्पनीलाई भन्दा तीन गुणा बढी बोनस तथा जरीवानाको व्यवस्था यो कम्पनीसँग गरिएको छ,’ पन्तले भने, ‘निर्धारित समयअघि नै काम सके कम्पनीले दिनको शून्य दशमलव १५ प्रतिशत बोनस पाउनेछ भने ढिलो गरे सोही प्रतिशत रकम नै तिर्नुपर्ने व्यवस्था रहेको छ ।’
कम्पनीले अम्बाथान, ग्याल्थुम, सिन्धु लगायत स्थानमा डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, क्याम्पहरूको मर्मत, सुरुङको अन्तिम चरणको संरचना निर्माण, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार लगायतका काम गर्नु पर्नेछ । सम्झौताअघि नै आयोजनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरेको कम्पनीले अबको २ हप्ताभित्रै काम थाल्ने आयोजनाले बताएको छ ।
हेडवर्क्सको ठेक्का पनि सिनोलाई
आयोजनाको प्याकेज १ अन्तर्गतको हेडवर्क्सको ठेक्का पनि सिनो हाइड्रोले नै पाउने निश्चित भएको आयोजनाले जानकारी दिएको छ । प्राविधिक मूल्यांकनमा उसकै मात्र प्रस्ताव पुगेकाले प्याकेज १ को पनि ठेक्का सिनो हाइड्रो नै पाउने निश्चित भएको हो । हेडवक्र्सको कामका लागि १ अर्ब २ करोड रुपैयाँ छुट्याइएको छ ।
उक्त ठेक्कामा पनि सुरुङकै शर्त लागू हुने आयोजनाका प्रवक्ता पन्तले बताए । ‘मूल्यांकन सकिने बित्तिकै हेडवक्र्सतर्फको कामका लागि पनि सम्झौता हुनेछ,’ उनले भने । हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना निर्माण, पहुँच मार्गको सुधार तथा स्टील पुल निर्माण लगायत काम गर्नुपर्नेछ ।
यी दुईबाहेक अन्य ८ प्याकेज भने पहिले सीएमसीसँग काम गरेकै ८ कम्पनीलाई दिइएको छ । उक्त कम्पनीहरूको काम पाइपभित्रको हावा बाहिर फाल्ने ‘भेन साफ्ट’ बनाउने, हाइड्रोमेकानिकल, स्टील पाइपको काम गर्ने, डीआई पाइपको काम गर्ने, फिटिङ गर्ने, पाइप जडान गर्ने, सपोर्टको काम गर्ने र अप्टिकल फाइबर तथा सीसीटीभी क्यामेरा लगायत अनुगमन उपकरणको काम गर्ने रहेका छन् ।
२०७० असार ३१ गतेदेखि आयोजना निर्माणको जिम्मा इटालीको ठेकेदार कम्पनी ‘कर्पोरेटिभ मुराटोरी सिमेन्टिस्टी (सीएमसी) डी रभेन्ना’ले पाएको थियो । काम थालेको १ हजार ९५ दिन अर्थात् २०७३ भदौ २६ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । तर, निर्धारित मितिभन्दा ८२८ दिनपछि पछि २०७५ मङ्सिर २९ गते करीब ८५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा कार्यथलो छोडी सीएमसी हिँडेको थियो ।
आर्थिक रूपमा समेत टाट पल्टिएको सीएमसीले कार्यथलो छाडेको डेढ महीनापछि माघ २१ गते आयोजना कार्यालयले सीएमसीसँगको ठेक्का रद्द गर्यो ।
यही अवस्थामा फागुन २ गते बसेको संघीय संसदको अर्थ समितिको बैठकले लगानी नबढ्ने गरी आयोजनाको बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको थियो ।
त्यसपछि बाँकी कामलाई १० प्याकेजमा विभाजन गरी सुरुङ र हेडवक्र्सका काम सम्पन्न गर्न बोलपत्र आह्वान गरिएको थियो । बाँकी काम सम्पन्न गर्न नेपाली कम्पनीहरू सक्षम रहेका भए पनि एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोग रहेको उक्त आयोजनाको ठेकेदार छनोट एडीबीकै नियमअनुसार गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार विश्वव्यापी बोलपत्र आह्वान गरिएको थियो ।