ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले प्रतिबन्ध लगाएपछि व्यापारीले लुकाए प्याज

Oct 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । भारत सरकारले आइतवारदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । भारतले प्रतिबन्ध लगाएको भोलिपल्ट (सोमवार) काठमाडौंमा प्याजको थोक मूल्य १ दिनमा प्रतिकेजी रू. ३० बढेर रू. १२० पुग्यो । थोक मूल्य बढेसँगै प्याजको खुद्रा मूल्य बजारमा प्रतिकेजी १४०–१५० पुगेको छ । भारतमा प्याजको अभाव भएर मूल्य बढ्दै गएपछि त्यहाँकोे वाणिज्य तथा उद्योग मन्त्रालयले आइतवार निर्यात नीति संशोधन गरी निर्यातमा प्रतिबन्ध लगाएको हो । 

सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कालिमाटीस्थित कालिमाटी तरकारी तथा फलफूल केन्द्रमा अनुगमन गर्दा ३५० बोरा प्याज लुकाएको अवस्थामा पाइएको थियो ।  

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार भैरहवा भन्सारमा भएको खरीद मूल्यको बिलिङ र विक्री मूल्यमा ठूलो अन्तर नभए पनि प्याज लुकाइएको पाइएको हो । ‘भैरहवाबाट होलसेलमा प्रतिकेजी रू. १०७ मा बिलिङ गरी ल्याइएको छ,’ उनले भने, ‘विक्री रू. ११० मात्र रहेकोमा प्याजका बोरा भने लुकाइएको पाइएको हो ।’  विभागका अनुसार कालिमाटीमा होलसेलमा प्याज विक्री गर्दै आएको अर्याल आलुप्याज सप्लायर्सको गोदाममा २०० बोरा र अन्य खुद्रा पसलमा १५० बोरा प्याज लुकाएको पाइएको हो ।

दशैं नजिकिँदै गर्दा काठमाडौंमा प्याजको मूल्य बढ्दै गएको थियो । काठमाडौंमा तरकारीको मुख्य थोकबजार कालिमाटीमा असोज १ गते प्याजको औसत थोक मूल्य रू. ८९ रहेको थियो जुन पछिल्ला २ दिनमा ह्वात्तै बढेको छ ।

कुल आयातको ९० प्रतिशत भारतबाट हुनेगरेकाले भारतीय बजारमा हुने हलचलले नेपालमा प्याजको आपूर्ति र मूल्यमा प्रभाव पर्ने गरेको छ । भन्सार विभागका तथ्यांक अनुसार नेपालमा वार्षिक रू. ५ अर्बभन्दा बढीको प्याज आयात हुन्छ । 

भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार नेपालमा प्याजको मूल्य असाधारण रूपमा बढेपछि मात्र चिनियाँ प्याज आयात हुने गरेको छ । ‘आजभन्दा २ वर्षअघि अचानक प्याजको मूल्य यसरी नै बढ्दा चीनबाट प्याज आयात भएको थियो,’ उनले भने, ‘सो अभ्यासअनुसार भारतले प्रतिबन्ध हटाएन भने चीनबाट आयात बढ्न सक्छ ।’

उपभोक्ता अधिकारकर्मी दशैंको समयमा प्याजको आकाशिँदो मूल्य नियन्त्रण गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले भारतसँग कुराकानी गरेर निर्यात प्रतिबन्ध हटाउन जरुरी रहेको र यस्तो समयमा कृत्रिम अभाव सृजना गरी कालोबजारी हुन नदिन सशक्त अनुगमन आवश्यक रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)