ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘फिफ्थ फ्रीडम’ सहित नेपाल–अस्ट्रेलिया हवाई सम्झौता, सातामा सात/सात उडान

४० देशसँग हवाई सम्झौता, ९ देशमा उडान

Oct 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रधान कार्यालय मन्ट्रियलमा अक्टोबर १ मा नेपाल र अस्ट्रेलियाका प्रतिनिधिबीच हवाई सेवा सम्बन्धमा प्रारम्भिक हस्ताक्षर भएको हो । अस्ट्रेलियासँग भएको यो पछिल्लो सम्झौतासँगै नेपालसँग हवाई सम्झौता भएका देशको संख्या ४० पुगेको छ । सम्झौतापत्रमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियाली प्रतिनिधि मण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात शहरी एवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जीम वल्फीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुवै पक्षले जुनसुकै प्रकारका वायुयानबाट सातामा ७/७ ओटा उडान गर्न सक्नेछन् । नेपाली जहाजले अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी ७ उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा भने असीमित उडान गर्नसक्ने सहसचिव आचार्यले जानकारी दिए । यस्तै अस्ट्रेलियन पक्षले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा सात उडान गर्न पाउनेछ । यस्तै गौतमबुद्ध र पोखरासहित अन्य विमानस्थलमा २८ ओटा उडान गर्न पाउनेछ । दुवै देशका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण पूर्व एशिया र मध्यपूर्वका कुनै २ बिन्दु उपयोग गर्दै मध्यवर्ती बिन्दु भएर पाँचौं ट्राफिक अधिकार (फिफ्थ फ्रीडम) उपभोग गर्न पाउनेछन् ।

नेपाली पक्षका एयरलाइन्सका हकमा अस्ट्रेलियाका गन्तव्य बिन्दुभन्दा पर (वियोन्ड पोइन्टका रूपमा) न्यूजिल्याण्डका २ ओटा बिन्दुमा पुग्न पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने सहसचिव आचार्यले जानकारी दिए । अस्ट्रेलियन पक्षका एयरलाइन्सको हकमा नयाँ दिल्लीबाहेक नेपालका गन्तव्य बिन्दुभन्दा परका अन्य २ बिन्दुमा पाँचौ ट्राफिक अधिकार प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ । यो सम्झौताले निगमलाई अस्ट्रेलियासम्म गन्तव्य विस्तार गर्ने बाटो खुलेको छ । यद्यपि निगमको वाइडबडीबाट त्यहाँसम्म सीधा उडान भने हुन सक्दैन । त्यसैले दुवै पक्षका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण पूर्व एशिया र मध्यपूर्वका कुनै २ बिन्दु उपयोग गर्दै  पाँचौं ट्राफिक अधिकार उपभोग गर्न पाउने गरी सम्झौता भएको सहसचिव आचार्यले बताए । ‘सबै उडान सीधा नै हुनुपर्छ भन्ने छैन, यो अधिकार प्रयोग गरेर दुवै देशका वायुयानहरूले उडान गर्न सक्छन्,’ आचार्यले आर्थिक अभियानसँग भने ।

यस्तै नेपाल वायुसेवा निगमले पनि नयाँ गन्तव्य खोजिरहेको र अस्ट्रेलिया नेपालीको गन्तव्य मुलुक भएकाले पनि नयाँ सम्भावनाको ढोका खुलेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरीद गर्दा अस्ट्रेलियामा पनि उडान गर्ने व्यावसायिक योजना बनाएको थियो । ‘निगम तत्कालै अस्ट्रेलियामा गन्तव्य विस्तार गर्ने योजनामा त छैन । तर नेपालीको गन्तव्य मुलुक भएकाले त्यहाँ उडान गर्ने सम्भावना भने छ, ’ उनले भने । नेपालले यसअघि गत वर्ष कम्बोडियासँग हवाई सम्झौता गरेका थियो ।

४० देशसँग हवाई सम्झौता, ९ देशमा उडान
सरकारले अस्ट्रेलियासहित ४० मुलुकसँग हवाई सम्झौता गरेको भए पनि हालसम्म ९ ओटा देशसँग मात्र हवाई उडान सञ्चालन गर्दैआएको छ । नेपाली हवाई सेवा प्रदायकले सम्झौता गरेकै अन्तरराष्ट्रिय गन्तव्यमा उडान तथा अवतरणको स्वीकृति भने पाउन सकेका छैनन् । नेपालले उडान गरेका मुलुकमध्ये नेपाल वायु सेवा निगमले भारत, मलेशिया, थाइल्याण्ड, दुबई (युएई), कतार, हङकङ र जापान गरी सात देशका नौ गन्तव्यमा उडान गरिरहेको छ । निगमले भारतका दिल्ली, मुम्बई र बैंगलोर गरी तीन गन्तव्यमा उडान गरिरहेको छ भने अन्य देशका एक–एक गन्तव्यमा उडान गरेको छ । यस्तै चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाउ र साङहाईमा उडान गर्ने योजना बनाएको नेपाल वायुसेवा निगम चिनियाँ सेफ्टी अडिटको पर्खाइमा छ ।

यस्तै हिमालय एयरलाइन्सले मलेशिया, दुबई  (युएई), कतार, बंगलादेश र साउदी अरेबिया गरी पाँच गन्तव्यमा उडान गरिरहेको छ । निगम र हिमालयले बनाएको योजनाअनुरूप उडान भए भने पनि नेपाली विमानले उडान गर्ने थप एउटा मात्र देश (चीन) थपिने छ । चीनमा गन्तव्य संख्या केही थप हुन सक्ने छ । अन्तरराष्ट्रिय उडानमा हालै मात्र अनुभव लिँदै गरेको बुद्ध एयरले एटीआर जहाजमार्फत भारतका केही शहरमा उडान गरिरहेको छ भने श्री एयरले पनि अन्तरराष्ट्रिय उडानको अनुमति पाएको छ । यी दुवै एयरलाइन्सले भारत र भुटानसम्मको उडान गर्ने योजना छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)