ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंमा पनि सुनको कारोबार निराशाजनक

Oct 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालीहरूको मुख्य चाड दशैंतिहारको समयमा पनि सुनको कारोबार निराशाजनक नै देखिएको छ । सुनचाँदीको व्यवसायका लागि यो अत्यन्तै महत्त्वपूर्ण सिजन हो । अरू बेलाभन्दा यस समयमा सुनको कारोबार उच्च मात्रामा हुने गर्छ । तर, अहिले मूल्य बढेकोले सुनको व्यवसाय निराशाजनक रहेको व्यवसायीहरू बताउँछन् । 

सुनचाँदी बजारमा ‘तीजको व्यापारले दशैंको व्यापार इंगित गर्छ’ भन्ने उखान प्रचलनमा छ । गत तीजमा नै सुनको कारोबार घटेको हुनाले दशैंमा राम्रो व्यापार नहुने शंका भने व्यवसायीहरूले गरेका थिए । तीजको समयमा सुनको मूल्य डरलाग्दो तरीकाले बढेपछि अधिकांश पसलहरू सुनसान जस्तै भएका थिए ।

दशैंमा ग्राहकको घुइँचो हुने सुनचाँदी पसलमा अहिले सीमित ग्राहक मात्र झुल्किन्छन् । पसलमा आउने ग्राहकमध्ये अधिकांश आफ्नै सुन लिएर गहना बनाउने छन् । तर, उनीहरूले आधा तोलासम्म सुन भने किन्ने गरेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार दशैंमा पहिले एउटै व्यक्तिले ४÷५ तोला सुनको गरगहना बनाउनु सामान्य थियो, तर अहिले त्यस्ता ग्राहक पसलसम्म आएका छैनन् ।

मुलुकभर २२ हजारभन्दा बढी सुनचाँदी पसल छन् । सामान्य अवस्थामा दशैंको समयमा ती पसलबाट दैनिक ५० केजीभन्दा बढी सुनको खपत हुन्थ्यो । तर, अहिले मुस्किलले दैनिक १५ केजी सुनको मात्र कारोबार हुने गरेको छ । मूल्य बढेपछि गत असारदेखि नै सुनको कारोबार ओरालो लागेको छ । 

वैशाख र मंसिर जस्ता विवाहको सिजनमा सम्बन्धित घर परिवारले मात्र सुनको गरगहना बनाउने गर्छन् । तर, नेपालमा दशैंतिहार मनाउने मानिस धेरै भएको हुनाले यो बेलामा अत्यधिक व्यक्तिले सुनको नयाँ गरगहना बनाउने गरेको पाइन्छ । त्यसैले यो समय सुनचाँदी व्यवसायीका लागि महŒवपूर्ण रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ । 

शाक्यले महँगी बढ्दा पनि सुनको कारोबारमा ह्रास आएको बताए । उनले भने, ‘अहिले डरलाग्दो तरीकाले महँगी बढेको छ । साथै, सरकारले करमा पनि कडाइ गरेकाले आम सर्वधारणहरू आधारभूत आवश्यकतामा मात्र खर्च गर्न थालेका छन्, जसले गर्दा पनि सुनको व्यवसायी घटेको छ ।’

उनले थप भने, ‘नेपाली समाजमा यस्ता चाडपर्वमा नयाँ गरगहना लगाउने विषय एउटा संस्कृतिको रूपमा नै विकास भएको छ । त्यसैको प्रभावले यस समयमा ठूलो मात्रामा सुनका गरगहना विक्री हुने गर्थे । तर, अहिले चाडपर्वको समयमा पनि सुनका गरगहना किन्ने ग्राहकको संख्या नगन्य मात्रामा हुँदा व्यवसायीहरू मर्कामा परेका छन् ।’

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पनि सुनको आयात घटेको देखाएको छ । साथै, अहिले बैंकहरूसँग करीब ५०० केजी सुन स्टकमा छ । असारमसान्तसम्म बैंकहरूमा ७४५ केजी सुन थियो, जसअनुसार साउन १ गतेयता व्यवसायीहरूले बैंकबाट २४५ केजी सुन लिएका छन् । नेपाल बैंकर्स संघका अनुसार सामान्य अवस्थामा व्यवसायीहरूले बैंकबाट मासिक ६०० केजी सुन लिने गर्थे ।

गत असारदेखि नै बढ्न थालेको सुनको मूल्य भदौ १८ गतेसम्म आउँदा प्रतितोला रू. ७३ हजार ५०० पुग्यो, जुन हालसम्मकै सबैभन्दा उच्च हो । अहिले भने नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू. ७० हजारको वरिपरि घुमेको छ । मंगलवार सुनको मूल्य प्रतितोला ७० हजारबाट झरेर रू. ६९ हजार २०० पुगेको छ ।   

त्यसअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू. ६३ हजार ३ सयसम्म पुगेको इतिहास छ । २०७० भदौ १२ र गत फागुन ८ गते सुनको मूल्य सो विन्दुमा पुगेको थियो । अन्य समयमा सुनको कारोबार प्रतितोला रू. ५० हजारदेखि रू. ६० हजारको बीचमा भएको पाइन्छ । २०७३ मा भने सुनको मुल्य प्रतितोला रू. ४७ हजार २ सयसम्म झरेको थियो । 

नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । अमेरिका र चीनबीचको व्यापार युद्ध लगायतका कारण विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आएको छ । त्यसैले गर्दा लगानीकर्ताहरूले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका कारण गत असारदेखि नै सुनको मूल्य बढ्दै आएको थियो । तर, व्यापारयुद्धलाई विषयमा दुई देश आगामी अक्टोबर १० तारिखमा अमेरिकामा वार्ता गर्न सहमत भएका छन्, त्यसपछि भने सुनको मूल्य घट्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)