धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२, पुरानो भन्सारमा ५ करोड रुपैयाँको लागतमा ‘मालिका अक्सिजन ग्यास उद्योग’ सञ्चालनमा आएको हो ।
मालिक ग्रूप धनगढीले अस्पताल तथा फलामजन्य उद्योगमा आवश्यक पर्ने अक्सिजनको उत्पादन शुरू गरेको ग्रूपका प्रबन्ध निर्देशक हिक्मत शाहले बताए । सुदूरपश्चिम प्रदेशभित्र झोलुंगे पुल निर्माण गर्दै आएको मालिका ग्रूपले उद्योगमा दोस्रो चरणमा रू. २ करोड लगानी गर्ने भएको छ । धनगढीबाटै मेडिकल अक्सिजन उत्पादन थालेकाले यहाँका अस्पताल तथा बिरामीलाई सहज हुने अपेक्षा उद्योगले गरेको छ ।
काठमाडौं, विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत क्षेत्रबाट आयात गरी यहाँका फलाम उद्योग तथा अस्पतालहरूले अक्सिजनको उपयोग गर्दै आएका थिए । ‘अब उक्त सेवा धनगढीबाटै हुने भएपछि यसप्रकारका उद्योगलाई हामी आफैले संरक्षण र आवश्यक सहयोग गर्नुपर्छ,’ धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर बडले भने । बुधवार नगरप्रमुख बडले उद्योगको उद्घाटन गर्दै यस प्रकारको उद्योगले व्यापार मात्र नभएर मानव सेवासमेत गर्ने भएकाले धनगढीको सम्पत्तिको रूपमा आफूले लिएको बताए ।
उद्योगसँग २४ घण्टामा २ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ । यस प्रकारको उद्योगको सम्भावना सुदूरपश्चिममा उच्च रूपमा देखेकाले आफूहरूले ठूलै लगानी गरेर सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शाहले बताए । आफ्नो ग्रूपलाई मात्र दैनिक ४÷५ अक्सिजन सिलिन्डर आवश्यक पर्ने भएकाले आफ्नो उद्योगको आफै ग्राहक भएर सञ्चालनमा ल्याएको उनको भनाइ छ । अक्सिजन ग्यास अभावकै कारण सेती अञ्चल अस्पतालको व्यवस्थापन अस्तव्यस्त भइरहेको अवस्थामा अब सहजै रूपमा यस उद्योगले सो कार्यमा सहयोग पु¥याउने अपेक्षा आफूले गरेको नगरप्रमुख बडले बताए ।