ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्लिंकर र पीएलसी सिमेन्ट उत्पादन गर्न मापदण्ड बन्दै

५, १० र २५ केजीमा पनि अब सिमेन्ट पाइने

Oct 3, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पहिलो पटक क्लिंकर तथा पोर्टल्यान्ड लाइम स्टोन सिमेन्ट (पीएलसी) उत्पादनका लागि आवश्यक मापदण्ड बनाउने प्रक्रिया शुरू गरेको छ । अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी) पछि विभागले पछिल्लो समय पीएलसी उत्पादनका लागि पनि मापदण्ड बनाउने भएको हो । 

सिमेन्ट उत्पादकले यस प्रकारको सिमेन्ट पनि उत्पादन गर्न इच्छुक देखिएको र माग पनि भएकोले यसमा पनि मापदण्ड बनाउन आवश्यक भएको विभागले बताएको छ । चालू आर्थिक वर्ष २०७६/७७ भित्र नै क्लिंकर र पीएलसीका लागि नयाँ मापदण्ड लागू भइसक्ने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘सिमेन्ट तथा क्लिंकर उत्पादकहरूले क्लिंकर र पोर्टल्यान्ड लाइम स्टोन सिमेन्ट उत्पादन गर्ने चासो देखाएका छन्,’ उनले भने, ‘माग पनि आएको हुँदा अहिले विभागले समिति गठन गरेर मापदण्ड बनाउने काम अघि बढाएको छ ।’

पुडासैनीका अनुसार कतिपय अवस्थामा क्लिंकरको मापदण्ड नहुँदा तथा नतोक्दा फरक–फरक गुणस्तरको आउने गरेको छ । क्लिंकरको गुणस्तर तथा उत्पादनमै एकरूपता होस् र लगानीकर्तालाई पनि सही मार्गदर्शन होस् भन्ने उद्देश्यले क्लिंकरमा मापदण्ड बनाउन लागिएको उनले बताए ।

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष डा. ताराप्रसाद पोखरेलले मापदण्ड बनाउन आवश्यक भइसकेको तर कार्यान्वयनमा पनि उत्तिकै जोड दिनुपर्ने बताए । ‘निजी क्षेत्रबाट भएको उत्पादनबाट अहिले क्लिंकर तथा सिमेन्टमा आत्मनिर्भर भएका छौं,’ उनले भने, ‘क्लिंकरमा लगानी गर्नेलाई यस्ता मापदण्ड र गुणस्तरीय सिमेन्ट उत्पादन गर्नका लागि थप सहयोग पुग्छ ।’

यसैगरी विभागले ५, १० र २५ केजीमा पनि सिमेन्ट विक्रीवितरण गर्न पाउने व्यवस्था गर्ने भएको छ । विभागका अनुसार उक्त परिमाणका सिमेन्ट प्याकिङ गरेर विक्रीवितरण गर्न पाउने व्यवस्था केही महीनाभित्र लागू गर्ने तयारी भएको छ । हाल ५० केजीमा मात्रै सिमेन्ट खरीदविक्री हुँदै आएको छ । पहाडी भेग र स–सानो परिमाणमा सिमेन्ट आवश्यक हुनेलाई लक्षित गरिएको विभागको भनाइ छ । सिमेन्ट उत्पादकले यी परिमाणमा सिमेन्ट उत्पादन गर्दा खपतमा पनि केही सुधार हुन सक्ने बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)