ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोडेपानीमा पर्यटकको चाप

Oct 4, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । राउन्ड अन्नपूर्ण अन्तर्गत प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका–६ मा घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढेको इलाका प्रहरी कार्यालय, घोडेपानीका प्रमुख सर्वजित गुरुङले जानकारी दिए । पर्यटक आगमन बढेसँगै यहाँका होटलहरू खचाखच भरिएको उनले बताए । ‘दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्,’ गुरुङले भने, ‘कास्की क्षेत्रबाट आउने अत्यधिक छन् । उनका अनुसार यहाँ आएका पर्यटक दुई/तीन दिनसम्म घोडेपानी, पुनहिल र आसपासका क्षेत्रमा रमाउने गर्छन् । 

समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मगर जातिको संस्कृति, विविध प्रजातिका पशुपक्षी, वनस्पती पाइन्छ । यहाँबाट माछापुच्छ«े, धवलागिरि जस्ता हिमशृंखला र सूर्योदयको अवलोकन समेत गर्न सकिन्छ । यस्तै मगर जातिको नृत्य, वेशभूषा प्रदर्शन लगायत सांस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले बताए । 

मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन व्यवसाय गरेका छन् । ४ दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग शुरू भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल स्तरोन्नति हुँदै अहिले सुविधासम्पन्न होटलहरू बनेका छन् ।

पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइ अभियान चलाएका छन् । पर्यटक आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि गस्ती समेत गर्न थालेको छ ।

मौसमले दिएन साथ
घोडेपानीमा पर्यटक आगमन बढे पनि प्रतिकूल मौसमका कारण उनीहरूले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् ।

विगत ५ दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने गरेपछि पुनहिल भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश भएका छन् । मौसम खराबीका कारण पर्यटकहरू अन्य पर्यटकीय क्षेत्रमा जान समेत नपाएको होटल व्यवसायी गुरुङले बताए ।

९ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृंखलाको दृश्यावलोकन गर्न नपाएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)