ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार बीमामार्फत उठ्ने शुल्क १७ प्रतिशतले घट्यो

मलेशिया रोजगारी अवरुद्ध हुँदा बीमा शुल्क घटेको कम्पनीको भनाइ

Oct 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जीवन बीमा कम्पनीहरूको गत आर्थिक वर्ष वैदेशिक रोजगार म्यादी जीवन बीमा संकलनमा १७ दशमलव २० प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६ मा जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ३१ करोड ६९ लाख बीमा शुल्क संकलन गरेका थिए जबकि आव २०७४/७५ मा यस्तो बीमामार्फत रू. २ अर्ब ७९ करोड ८२ लाख संकलन भएको थियो । 

म्यानपावर व्यवसायीद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठ २ गतेदेखि मलेशियाका लागि अन्तिम श्रम स्वीकृति दिन पनि रोक लगाएको थियो जसले गर्दा वैदेशिक रोजगारीमा सबैभन्दा बढी हिस्सा ओगटेको मलेशियामा गत आवमा नयाँ कामदार जान सकेनन् । 

सूर्या लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विदेशिने कामदारको संख्या घटेपछि बीमाशुल्क संकलनमा ह्रास आएको बताए । ‘अहिले मलेशियाको रोजगारी औपचारिक रूपमा खुला भएको छ । शायद अब बीमाशुल्क संकलन पहिलेको भन्दा बढ्न सक्छ,’ उनले भने । 

वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रूपमा यस्तो बीमा गर्नुपर्ने प्रावधान छ । सरकारले यस्तो बीमालाई अनिवार्य गरेपछि यसले बीमा कम्पनीहरूको आम्दानी स्रोत पनि बढेको थियो । साथै, वैदेशिक रोजगारमा ज्यान गुमाउने कामदारको परिवारलाई पनि यस बीमाले राहत प्रदान गर्दै आएको छ ।

बीमा समितिको तथ्यांक अनुसार वैदेशिक रोजगार बीमाबाट सूर्या लाइफले सबैभन्दा बढी रू. ५१ करोड ३६ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाइफले रू. ३९ करोड ६५ लाख, प्राइम लाइफले रू. ३५ करोड ५० लाख र युनियन लाइफले रू. ३० करोड ८४ लाख बीमाशुल्क संकलन गरेका छन् । यद्यपि, मेट लाइफ लगायत केही कम्पनीले भने आफ्नो इच्छाअनुसार नै यो बीमा व्यवसायमा सहभागी छैनन् ।

हाल यो बीमा व्यवसाय एकद्वार प्रणालीमा अगाडि बढेको छ । पहिले विदेश जाने नेपाली कामदारले आफ्नो इच्छाअनुसार कुनै पनि जीवन बीमा कम्पनीमा यस्तो बीमा गर्ने गरेका थिए । तर, त्यसले विकृति भित्र्याएपछि समितिले पुल बनाएर गत माघदेखि एकद्वार प्रणालीमा यस बीमालाई अगाडि बढाएको छ । 

हाल उक्त पुल सञ्चालनको जिम्मा नेशनल लाइफ, सूर्या लाइफ, युनियन लाइफ र रिलायवल नेपाल लाइफ इस्योरेन्सले पाएका छन् । उक्त पुलमार्फत हुने व्यवसाय भने तोकिएको अनुपातमा सबै जीवन बीमा कम्पनीलाई बाँडफाँट गरिने व्यवस्था छ । साथै, पुल सञ्चालनको जिम्मेवारी पनि रोटेशनको आधारमा अन्य कम्पनीले पनि पाउने छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)