असोज १७, काठमाडौं । चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजना अन्तर्गत चिनियाँ कम्पनीको रू ६४ अर्ब लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौताअनुसार एक हजार ६ सय हेक्टरमा बन्ने ‘चाईना–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगटने यो पार्क दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने दाबी गरिएको छ ।
यो औद्योगिक पार्क निर्माणले नेपालको औद्योगिक विकासमा ठूलो योगदान पुग्ने त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम थालिसकेको अधिकारीले जानकारी दिए ।
सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि उनले बताए ।
चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङजीले औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए । उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दशौं हजारले रोजगार पाउने बताए ।
कार्यक्रममा औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए ।
त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा पीपीपी मोडलमा जलविद्युत आयोजना बाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना भएको जानकारी दिए ।