काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको जारी नेपाल भ्रमणका क्रममा सहयोगको प्रतिबद्धता आउने अपेक्षा गरिएका क्षेत्रमा ऊर्जा र पूर्वाधार अगाडि छन् । ऊर्जातर्फ प्रसारण लाइनका साथै जलविद्युत् आयोजनामा लगानीको प्रतिबद्धता आउने सम्भावना छ भने पूर्वाधारमा रेल तथा सुरुङ मार्गमा सहयोगको अपेक्षा गरिएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले करीब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय गरेको थियो । नेपालको प्रमुख व्यापारिक गन्तव्यमध्येको एक चीनसँग जोड्न नेपालले पर्याप्त मात्रामा पूर्वाधार विकास गर्न सकेको छैन । त्यसैले २ दशकपछि चीनबाट भएको उच्चस्तरको राजनीतिक भ्रमणका अवसरमा नेपालले पूर्वाधार निर्माणमा सहयोगको अपेक्षा राखेको छ ।
नेपालको उत्तरी छिमेकीसँगको व्यापार तथा पारवहनमा महत्वपूर्ण मानिएका अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र काठमाडौंलाई चीनसँगको सीमा नाका केरुङसम्म सहज रूपले जोड्न सुरुङमार्ग निर्माणका लागि नेपाल र चीनबीच आइतवार समझदारी पत्रमा सम्झौता हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । चिनियाँ राष्ट्रपतिले आफ्नो सम्मानमा दिइएको रात्रिभोजमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिसकेका छन् ।
२०७२ को नाकाबन्दीपछि चीनतर्फ पनि पारवहन सम्बन्धलाई विस्तार गर्न पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने पक्षमा नेपाल रहेको छ । गतवर्ष चिनियाँ प्राविधिक टोली र नेपालको रेल विभागको संयुक्त प्रयासमा १०० किलोमिटरको केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भने भइसकेको छ ।
गतवर्षको भदौमा चिनियाँ टोली नेपाल आई प्रारम्भिक अध्ययन गरी सोही वर्षको मङ्सिरमा भौगोलिक अवस्था कठिन भए पनि रेलमार्ग निर्माण गर्न सकिने प्रतिवेदन मन्त्रालयलाई दिइसकेको छ । उक्त अध्ययनले प्रतिवेदन मन्त्रालयलाई बुझाएपछि नेपाल अहिले चीनको अनुदान सहयोगमा रेलमार्ग बनाउने पक्षमा रहेको छ । ‘आइतवार (आज) सम्ममा उक्त रेलमार्गको डीपीआर निर्माणका विषयमा ठोस निर्णय हुने सम्भावना छ,’ मन्त्रालयका एक वरिष्ठ अधिकारी बताउँछन् ।
राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग निर्माण चिनियाँ अनुदानमा हुने घोषणा हुनेछ । ४ दशमलव १७ किलोमीटरको उक्त सुरुङमार्गले काठमाडौं–नुवाकोटलाई छोटो दूरीमा जोड्ने हुँदा उत्तरतर्फको नाकामा सहज पहुँच हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच आइतवार हुने वार्तामा ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क (सीमापार बहुआयामिक सम्पर्क सञ्जाल) अन्तर्गत रेल, सुरुङमार्ग, सडक लगायत पूर्वाधार आयोजनाहरूका बारेमा द्विपक्षीय छलफल हुने बताइएको छ ।
ऊर्जाक्षेत्रमा सहकार्य नेपालले प्राथमिकता दिएको अर्को क्षेत्र हो । प्रधानमन्त्री ओलीको गतवर्षको चीन भ्रमणका बेला नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच १४९ किलोमीटरको रातमाटे–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको थियो ।
चिनियाँ कम्पनीले पठाएको लागत अनुमान अनुसार आयोजनाका लागि करीब ५० अर्ब रुपैयाँ लाग्नेछ । त्यसैले उक्त आयोजनालाई दुई देशका सरकारबीचको आपसी समझदारी (जीटूजी)मा बनाउने निर्णय हुनसके लागतको बोझबाट मुक्त हुने नेपालको चाहना छ ।
त्यसैले पनि राष्ट्रपति सीको भ्रमण नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन विकासका लागि कोसेढुंगा हुने आशा नेपालले गरेको छ । चीनले सन् २०३० भित्र सातै महादेशमा विद्युत् सञ्जाल विस्तार गर्ने लक्ष्य लिएकाले पनि राष्ट्रपति सीको यस भ्रमणमा नेपाल–चीन प्रसारण लाइनको विषय अघि बढ्ने विश्लेषकहरू बताउँछन् ।
त्यसबाहेक १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनासहित चारओटा जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि प्रस्ताव गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
युनान प्रोभिन्सियल इनर्जी इन्भेस्टमेन्ट ग्रूप कम्पनीको नेपाल कार्यालयका डेपुटी डाइरेक्टर उ लिङचेनलाई उद्धृृत गर्दै चीनको ग्लोबल टाइम्सले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ लगानीका ऊर्जा परियोजनामा गति दिनसक्ने भनी लेखेको छ । उले चीनले नेपालमा २०० मेगावाटसम्मका जलविद्युत् परियोजनामा सन् २०२० सम्म बीआरआई अन्तर्गतको करीब ५६ अर्ब (५०० मिलियन डलर) सम्मको लगानी गर्ने अपेक्षा पनि गरेका छन् ।
गएको लगानी सम्मेलनमा पावर चाइना कम्पनीले तल्लो अरुण जलविद्युत् आयोजना (६७९ मेवा) निर्माण गर्ने इच्छा व्यक्त गरेको थियो । तामाकोशी ३ जलविद्युत् आयोजनामा पनि चिनियाँ कम्पनीको लगानी रहेको छ ।