ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी नपाबाट कृषि शाखा नै गायब

Oct 13, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीको काउले कृषक समूह नवीकरण गर्ने भन्दै समूहका अध्यक्ष गणेशबहादुर कार्की बेनी नगरपालिकाको कार्यालयमा पुग्दा उनले नवीकरण गर्ने ठाउँ भेटाएनन् । नगरपालिकामा बुझ्दा उनलाई कृषक समूह नवीकरणका लागि कृषि ज्ञान केन्द्र म्याग्दीको कार्यालयमा पठाइयो । तर, त्यहाँ पनि उनले कृषक समूह नवीकरणको काम गर्न सकेनन् ।

त्यहाँबाट पनि उनलाई ‘संघीयता कार्यान्वयनसँगै सबै अधिकार स्थानीय तहमा गएको हुँदा बेनी नगरपालिकामै गएर समूह नवीकरण गर्नू’ भन्दै फर्काइयो । पुनः नगरपालिका पुगेपछि बल्ल पो थाहा भयो उनलाई त्यहाँ त कृषि शाखा नै रहेनछ । कर्मचारीको दरबन्दी भए पनि कृषि शाखाचाहिँ गायब पारिएको रहेछ । नगरपालिकामा कृषि शाखा नहुँदा काउले कृषक समूहका अध्यक्ष कार्कीको जस्तै समस्या बेनी नगरपालिकाका धेरै कृषकहरूले भोग्न बाध्य हुनपरेको छ ।

यस्तै अवस्था भोग्नु पर्‍यो कृषि अनुदानका लागि निवेदन दिन नगरपालिकामा पुगेका बेनी नगरपालिका–२ का एक कृषकलाई पनि । कृषक हरि घिमिरेले व्यवसायिक कृषि पेशा अपनाएको एक दशकभन्दा बढी भयो । तर अहिलेसम्म कुनै अनुदान वा सहयोग पाउन नसकेपछि निवेदन लिएर नगरपालिकामा पुगे । त्यहाँ गएर कृषि शाखा सोध्दा कृषि ज्ञान केन्द्रमा पठाइयो । कृषि ज्ञान केन्द्रबाट फेरि नगरपालिकामा नै फर्काइयो ।

नगरपालिकाका कर्मचारीसँग कृषि शाखाको बारेमा सोधपुछ गर्दा नगरपालिकामा कृषि शाखा नै नभएको जानकारी पाएपछि घिमिरे जिल्ल परे । घिमिरेले भने ‘गाउँमा आएको सिंहदरबारले त कृषि शाखा केन्द्रमै पो बिर्सेछ ।’ बेनी नगरपालिकाको कुल जनसंख्या ३३ हजार ४ सय ९८ रहेकोमा अधिकांश जनसंख्या कृषिमा आश्रित छ । बेनपाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै वडाहरू कृषि उत्पादनका हिसाबले योग्य छन् ।

नगर क्षेत्रको अधिकांश भूगोलमा कृषि खेती हुने गरे पनि नगरपालिकामा कृषिको शाखा नै नहुनु गम्भीर विषय भएको अर्का कृषक नारायण पौडेलले बताए । कृषकहरू कृषिसम्बन्धी विभिन्न काम लिएर नगरपालिकामा गए पनि उनीहरूले सेवा पाउन नसकेको पौडेलले गुनासो गरे ।

‘पहिला पहिला साविकको जिल्ला कृषि विकास कार्यालयबाट भनेको समयमा सेवा प्रवाह हुन्थ्यो । कृषि प्राविधिकहरू गाउँगाउँमा गएर कृषकहरूलाई सेवा दिन्थे, समूह गठन गर्थे,’ बेनी नगरपालिका–३, भकिम्लीका कृषक खिमलाल निउरेले भने ‘अहिले त कृषिका कर्मचारीको नाकमुखै देख्न पाइँदैन ।’

कर्मचारीको दरबन्दी छ, तर कार्यालय छैन
बेनी नगरपालिकाको कृषि शाखाका लागि कुल ४ जना कर्मचारीको दरबन्दी रहे पनि हालसम्म कृषि शाखा स्थापना गरिएको छैन । नगरपालिकाका शाखा अधिकृत युवराज थापाले कर्मचारीको दरबन्दी रहे पनि हाल कृषि शाखामा कर्मचारी नभएको स्वीकार गरे ।

उनले कृषिमा जनशक्ति कम भएको, समायोजन भएर कर्मचारी नआएको र लोकसेवाले कृृषि र पशुतर्फ विज्ञापन नगर्दा समस्या भएको बताउँदै यसको समाधानका लागि नगरपालिकामार्फत आवश्यक पहल भइरहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)