ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ राष्ट्रपति नेपालमा : चीन–नेपाल सीमापार रेल सम्भाव्यता अध्ययनको घोषणा

नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्न सहयोग गर्छौं : राष्ट्रपति सी

Oct 13, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
दुईदिने राजकीय भ्रमणमा शनिवार नेपाल आउनुभएका चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रासस
author avatar टीपी भुसाल author avatar हिमा वि.क.

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले बहुचर्चित चीन–नेपाल सीमापार रेलमार्गको सभाव्यता अध्ययन शुरू गर्ने बताउनुभएको छ । शनिवार काठमाडौं आइपुग्नुभएका राष्ट्रपति सीको सम्मानमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजलाई सम्बोधन गर्दै सीले उक्त घोषणा गर्नुभएको हो ।

चिनियाँ राष्ट्रपतिले अरनिको राजमार्ग सञ्चालनलाई सुनिश्चित गर्न यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने, केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्ग परियोजनालाई अघि बढाउन सक्रिय हुने तथा बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणमा चीनको सहयोग रहने बताउनुभयो ।

आफ्नो भाषणमा चिनियाँ राष्ट्रपतिले नेपाल–चीन कनेक्टिभिटी सञ्जाल निर्माणमा विशेष जोड दिनुभएको थियो । हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्न सहयोग गर्ने उहाँले बताउनुभयो । ‘बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टीभिटी सञ्जालको निर्माण गरी नेपालको भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं,’ सीले बताउनुभयो ।

राष्ट्रपति सीले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताउँदै यो भ्रमणसँगै चीन–नेपाल सम्बन्ध नयाँ युगमा प्रवेश गरेको समेत बताउनुभयो । यस्तै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्नुका साथै नेपाल र चीनका विभिन्न नगरबीच भगिनी सम्बन्ध स्थापित गरिने बताउनुभयो । जलवायु परिवर्तनका विषयमा नेपालको चासोप्रति चीन सधैं साथमा रहेको बताउँदै चिनियाँ राष्ट्रपतिले सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न चीन सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।

रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको समृद्धिको चाहना पूरा गर्न चीनको सहयोग र साथ आवश्यक भएको बताउनुभयो । उहाँले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गर्दै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतासमेत दोहोर्‍याउनुभयो । राष्ट्रपति भण्डारीले नेपालले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले रेलवेको क्षेत्रमा चीनले प्राप्त गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरूको यो चाहना छिटै पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

रात्रिभोजअघि दुवै देशका राष्ट्रपतिबीच शीतल निवासमा करीब ४० मिनेट वार्ता भएको थियो । सो भेटवार्तामा पनि दुवै राष्ट्रपतिबीच रेलवे, नेपाल भ्रमण वर्ष लगायत विषयमा छलफल भएको थियो ।

भारतको दुईदिने भ्रमण सकेर चेन्नाईबाट एयर चाइनाको विशेष विमानमार्फत अपराह्न काठमाडौं आउनुभएका सीलाई त्रिभुवन विमानस्थलमा उच्च सम्मानका साथ स्वागत गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै स्वागत गर्नुभएको थियो । सीको नेपाल भ्रमण पछिल्लो २३ वर्षमा चीनबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति सीको साथमा विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य दिङ सुइसियाङ, सीपीसीका विदेश मामला आयोगका निर्देशक याङ जेइची, सीपीसीका तिब्बत क्षेत्र हेर्ने सचिव यु यिङ जी लगायत नेता सहभागी छन् ।

सीको शनिवारै सोल्टीमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । सोल्टी होटलमा भएको वान टु वान भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुरा भएको नेपाली कांग्रेसले जानकारी दिएको छ । सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै आइतवार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीबीच दुईपक्षीय औपचारिक वार्ता हुनेछ । सरकारले चिनियाँ राष्ट्रपतिको भम्रणका क्रममा लगानी भित्र्याउन केही परियोजना अघि सार्ने बताइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत नेपालमा हुने लगानीका विषयमा नेपालले विशेष जोड दिनेछ । आइतवार दुई नेताको उपस्थितिमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ । सडक, रेलमार्ग, प्रसारण लाइन, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति लगायत विषयमा सहमति र सम्झौता हुन सक्ने नेपाली अधिकारीले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)