ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र चीनबीच १८ समझदारी र २ लेटर अफ एक्सचेन्ज, चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

Oct 13, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुुईदिने राजकीय भ्रमण पूरा गरी आइतवार स्वदेश फर्कने क्रममा अभिवादन गर्नुहुँदै । तस्वीर : रासस
author avatar टीपी भुसाल

असोज २६, काठमाडौं । नेपाल र चीनबीच १८ समझदारी र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । काठमाडौंको सोल्टी होटलमा आइतवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलका बीच औपचारिक वार्ता भएको थियो । वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल र चीनका सम्बन्धित अधिकारीले समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।

वार्तामा नेपालको तर्फबाट अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी सहभागी थिए । यसैगरी राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

दुई पक्षीय वार्तापछि चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका तथा केही उपमहानगरपालिका तथा सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको हो । ती समझदारीपत्र दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरेका थिए ।

द्विपक्षीय हस्ताक्षरपछि चिनियाँ राष्ट्रपति सी आइतवार त्रिभुवन विमानस्थलबाट चीनको राजधानी पेचिङ प्रस्थान गर्नुभयो । उहाँलाई बिदाई गर्न राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओलीलगायत सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारी विमानस्थल पुगेका थिए । नेपालको दुई दिने राजकीय भ्रमणका लागि सी शनिवार भारतको चेन्नई हुँदै नेपाल आउनुभएको थियो ।

शनिवार भएका भेटवार्तामा राष्ट्रपति सीले नेपाल चीन कनेक्टिभिटीको लागि चीनको सहयोग रहने बताउनुभएको थियो । उहाँले बहुआयामीक कनेक्टीभिटी सञ्जालको निर्माणले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बन्न सहयोग गर्ने र त्यसमा चीनको सहयोग रहने बताउनुभएको थियो ।

राष्ट्रपति सीले नेपाल रहँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व पधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनाल लगायत नेकपाका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

पछिल्लो २३ वर्षमा राष्ट्रपति सीको नेपाल भ्रमण चीनबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । राष्ट्रपति सीको साथमा विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य दिङ सुइसियाङ, सीपीसीका विदेश मामला आयोगका निर्देशक याङ जेइची, सीपीसीका तिब्बत क्षेत्र हेर्ने सचिव यु यिङ जी लगायतका नेताहरु सहभागी थिए ।

हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेज  
१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता ।  
२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदान सम्बन्धी समझदारीपत्र ।   
३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानूनी सहायता सन्धि ।
४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षण सम्बन्धी समझदारीपत्र ।   
५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र ।
६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) ।
७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्र ।   
८. नेपालको काठमाडौं महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता ।
९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता ।
१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोग सम्बन्धी समझदारीपत्र ।
११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोग सम्बन्धी समझदारीपत्र ।
१२. नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोग सम्बन्धी समझदारीपत्र ।
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापना गर्ने सम्बन्धी सम्झौता ।
१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्ने सम्बन्धी फाइटोस्यानेटरी आवश्यकता सम्बन्धी प्रोटोकल ।  
१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र     ।
१६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र ।   
१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठन सम्बन्धी समझदारीपत्र ।
१८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोग सम्बन्धी समझदारीपत्र ।   
१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) ।   
२०. चीनको सहयोगमा काठमाडौं उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)